ललितपुरमा २० जना डेङ्गुका बिरामी फेला

ललितपुर, भदौ २३ । ललितपुरमा डेङ्गुका बिरामी बढ्दो अवस्थामा रहेको छ । गतशुक्रबारसम्म ललितपुरमा ११ जना डेङ्गुका विरामी भेटिएकोमा सोमबार उक्त संख्या बढेर २० जना पुगेको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको परीक्षण गर्दा डेङ्गुको संक्रमण फेला परेको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए । जिल्लाको ६ स्थानीय तहमध्ये ललितपुर महानगर र महालक्ष्मी गाउँपालिकामा डेङ्गुका विरामी भेटिएको छ ।

डेङ्गुविरुद्ध अभियान – खोज र नष्ट गर अभियान
डेङ्गुको सङ्क्रमण फैलन नदिन ललितपुरमा ‘खोज र नष्ट गर’ अभियान शुरु भएको छ । जिल्लामा डेङ्गुका बिरामी भेटिएपछि सरोकार भएका पक्षले उच्च सतर्कता अपनाएका हुन् ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ ९ गतेदेखि जिल्लाभित्र लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट पार्ने काम भएको छ । खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको पानी खाली गरी सफाइ गरिएको थियो ।

“सचेतनामूलक कार्यक्रमसहित सम्भावित ठाउँको सरसफाइ पनि ग-यौँ” प्रमुख गेलालले भने।

जिल्लाका २ स्थानीय तहले पनि डेङ्गुविरुद्ध सचेतनामूलक कार्यक्रम गर्न शुरु गरेका छन् । स्वास्थ्य कार्यालयले डेङ्गुको शङ्का लागेमा तुरुन्त अस्पतालमा जाँचको लागि आउन आग्रह गरेको छ । “शङ्कास्पद बिरामीलाई अल्झाएर नराखी तुरुन्त अस्पतालमा पठाउन अन्य स्वास्थ्य संस्थालाई पनि अनुरोध गरेका छौँ”, डा. गेलालले भने ।

“लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गु रोकथामको सबैभन्दा उत्तम विकल्प हो”, महामारीजन्य रोगका फोकल पर्र्सन शंकर पौडेलले भने, “सर्वसाधारण स्वयं बढी सचेत हुन आवश्यक छ ।” स्वास्थ्य कार्यालयले लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर नराख्न, शरीर ढोक्ने गरी लुगा लगाउन सबैमा अनुरोध गरेको छ ।

डेङ्गु ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । उक्त लामखट्टेले दिनमा मात्र टोक्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तश्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्छन् । डेङ्गुको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गरिन्छ ।

गत वैशाखमा सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले ४२ भन्दा बढी जिल्लामा देखा परेका छन् । ४ जनाको मृत्यू समेत भैसकेको छ । सरकारले डेङ्गु नियन्त्रणका लागि उच्च सतर्कता र सक्रियतासमेत बढाएको छ ।

कसरी सर्छ डेंगु ?
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो एक प्रकारको ज्वरो हो। यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी हुन्छ। ससाना पानीको पोखरीमा यसले फुल पार्छ। खास गरी वर्षाको पानी जम्ने टिनका डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यो लामखुट्टेले फुल पार्छ।

डेंग एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो। यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्छ।

यी हुन् लक्षणः
– डेंगुको प्रमुख लक्षण एक्कासि उच्च ज्वरो आउनु हो। यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ।
– असाध्यै टाउको दुख्ने
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग धेरै दुख्ने
– ढाड, जोर्नी तथा मांसापेशी दुख्ने
– शरीरमा बिमिरा आउने
– वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षण पनि देखा पर्न सक्छ

यी हुन् बच्ने उपाय
– डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ।
– पानी जम्न सक्ने भाँडाहरू जस्तै स् गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने
– पानीको ट्याङ्कीलाई लामखुट्टे छिर्न नदिने गरी छोपेर राख्ने
– कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
– फूलदानीमा रहेको पानी हप्तामा दुईपटक फेर्ने
– यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउने
– सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुलभित्र सुताउने
– लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्ने
– घरका झ्याल ढोकामा जाली लगाउने
– घर वरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने

प्रकाशित मिति: सोमवार, भदौ २३, २०७६ /Monday, September 9th, 2019, 4:11 pm