ललितपुरमा ११ डेंगू संक्रमित भेटिए, सचेतना कार्यक्रमसमेत सञ्चालन

ललितपुर, भदौ २० । ललितपुरमा ११ जना डेंगू संक्रमित भेटिएको छ । ४९ जनाको परिक्षण गर्दा ११ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय ललितपुरका महामारीजन्य रोगका फोकल परसन शंकर पौडेलले बताए । उनका अनुसार सानेपा हाइटमा ३, मंगलबजारमा १, लगनखेलमा १, नख्खुमा १, लुभुमा १, ग्वार्कोमा १, हात्तीवनमा १ जना, ढोलाहिटीमा १ र सैंबुमा १ जना भेटिएको छ ।

संक्रमण रोक्न सचेतना अभियान
‘अहिलेसम्म ११ जनामा डेंगू भएको पत्ता लागेको छ । अस्पताल आउने बिरामीको संख्या बढिरहेकाले यो संख्या बढ्न सक्छ,’ फोकल परसन पौडेलले भने, ‘लामखुट्टेको टोकाइबाट संक्रमित हुने भएका कारण हामीले रोकथामका लागि सचेतनामूलक अभियान पनि चलाएका छौं ।’ ललितपुर जिल्लाका ललितपुर महानगर र महालक्ष्मी नगरपालिकाका अभियान सञ्चालन गरिएको र अब गोदावरी नगरपालिकालाई समेत अभियान सञ्चालन गर्न अनुरोध गरिने पौडेलको भनाई रहेको छ ।

विशेषगरी डेंगू रोग बैशाखदेखि कात्तिक महिनासम्म बढी भेटिने गरेकाले पनि रोकथामका अभियान चलाएको पौडेलले बताए। ‘डेंगूका सार्ने लामखुट्टेले दिउँसोमा टोक्छ’, उनले भने ‘सफा पानीमा फुल पार्दछ, त्यसैले पानीलाई छोपरे मात्रै राख्नुपर्छ।’

उनले घरदैलोमा पुगेर पोथी जातका लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्ने भएकाले पानी जम्ने खाल्टाखुल्टी पुर्न, सरसफाइमा ध्यानदिन र आवश्यक सुरक्षा अपनाउन आग्रह गरेको बताए। गर्मीमा लामखुट्टेले धेरै टोक्ने भएपनि जाडोमा हराउने भएकाले डेंगूको संक्रमण पनि जाडो सुरु भएसँगै कम हुने पौडेलले बताए ।

कसरी फैलन्छ डेंगू भाइरस ?
डेंगूले संक्रमित लामखुट्टेले टोकेपछि करिब ४८ घन्टाभित्र रगतमा भाइरस फैलिने फोकल परसन पौडेलले बताए । ‘त्यही अवस्थामा अर्को लामखुट्टेले बिरामीलाई टोकेर स्वस्थ मानिसलाई टोके पछि रोग सर्छ’ उनले भने। ‘संक्रमित लामखुट्टेलेको टोकाइबाट बिरामी परेको ब्यक्तिलाई अन्य लामखुट्टेले टोक्दा संक्रमण एकपछि अर्कोमा फैलिन्छ।’

लामखुट्टेले टोकेपछि रोगको लक्षण देखिन करिव ३ देखि ७ दिनसम्म लाग्न सक्छ। पहिलोपटक संक्रमण फैलिएका ठाउँमा सामान्य रूघाखोकी ज्वरो आउने, टाउको जिउदुख्ने, जोर्नी तथा ढाडहरु कडा दुख्ने जस्ता लक्षण देखिने उनले बताए। यस्तोमा रूघाखोकी र ज्वरोका सामान्य औषधि खाएर निको हुनसक्छ।

डेंगू संक्रमणले शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ । यसले घातक रूप लिँदा छाला, पेट, आन्द्राजस्ता शरीरका भित्री भागमा रक्तस्राव हुने र बिरामीको मृत्युसमेत हुन सक्ने चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६ /Friday, September 6th, 2019, 4:54 pm