सद्गुणी वरका लागि व्रत

काठमाडौँ, भदौ १७ । हरितालिका तीजका दिन व्रतालु महिलाको भीड वसन्तपुरस्थित मखन महादेवको मन्दिरमा पनि उस्तै रह्यो । राजधानीको मध्य भागमा रहेको हुनाले पनि यहाँ आउन र फर्कन सहज रहेकाले राति २ बजेदेखि नै श्रद्धालु महिलाको भीड बढेको हो ।

बालबालिका, ज्येष्ठ नागरिक र महिला पशुपतिनाथको मन्दिर प्रवेश गर्न लामो समय लाइनमा बस्नुपर्ने, भीडले अप्ठेरो हुने र बिरामीसमेत हुने गरेका छन् । “आमालाई पनि अप्ठेरो नहोस् भनेर यहाँ लिएर आएकी हुँ,” स्वयम्भूकी रोजिना थापाले भन्नुभयो, “भगवान् जहाँ पनि उही हुन्, यहाँ पनि महादेवकै पूजा गरिने हो ।”

पशुपति जत्तिको नभए पनि करिब एक घन्टा लाइन भने बस्नुपरेको आमा बिन्दा थापाले जानकारी दिनुभयो । पशुपति जत्तिको टाढा नभएकाले आफूहरू मखन महादेवको पूजा गर्न आएको मुना मैनाली र कमला मैनाली बताउनुहुन्छ । “कहिलेकाहीँ उता जाने हो, सधँै नजिकको तीर्थ हेला गर्नु त भएन नि,” कमला मैनालीले थप्नुभयो ।

भेडासिं चोककी सङ्गीता सुवेदी आफ्ना दुई बच्चासहित मन्दिरमा भेटिनुभयो । उहाँका साथमा बहिनी पवित्रा गौतम र उहाँकी एक वर्षकी छोरी पनि साथै थिए । “पशुपतिमा बालबच्चा धेरै नै बिचल्लीमा पर्ने, हराउने गरेकाले मखन महादेव मन्दिर आएको सङ्गीताले बताउनुभयो । “बच्चा भएका महिलालाई पशुपतिको लाम कुर्न गाह्रै हुन्छ,” उहाँ भन्नुहुन्छ, “यहाँ लाइन सानो छ, बैनी र म पालैसँग दर्शन गर्न र पूजा गर्न पाइहाल्छौँ ।”

जुन मन्दिरमा गए पनि महादेवको दर्शन नै गर्ने मनसाय भएकाले पशुपति नै पुग्नुपर्छ भन्ने मान्यता श्रद्धालु राख्दैनन् । खस, बाहुन समुदायका मात्र हैन, अन्य जनजाति तथा समुदायका महिला पनि तीजमा श्रीमान्को दीर्घायु र उन्नतिको कामना गर्दै निर्जला व्रत बसेर महादेवको पूजा गर्नुहुन्छ ।

कलङ्कीबाट मखन आइपुग्नुभएकी शर्मिला तामाङले भन्नुभयो, “अरूको जस्तै मेरो श्रीमान्को राम्रो होस् भनेर बिहानैदेखि पानी पनि नपिएर व्रत बसेकी छु, “माया गर्ने मान्छेका लागि यति गर्नु ठूलो कुरा हैन ।” छोरीसहित उहाँ सजिलोका लागि मखन आउनुभएको बताउनुहुन्छ ।

वीरगञ्जकी शान्तिदेवी पनि तीजमा श्रीमान् र परिवारको राम्रो होस् भन्दा आफ्नो पनि राम्रो हुने विश्वास राख्नुहुन्छ । सके पानी पनि नखाने, नसके दिउँसो पानी र फलफूल खाने उहाँले बताउनुभयो । गोरखापत्र दैनिकमा चाँदनी हमाल/यलु जोशीले लेखेका छन् ।

प्रकाशित मिति: मङ्लबार, भदौ १७, २०७६ /Tuesday, September 3rd, 2019, 6:08 am