प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा कसले के भने !

काठमाडौ, भदौ ३ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी र उग्रवामपन्थीबाट राज्य प्रणालीमाथि प्रहार हुन लागेको भन्दै सबै दल मिल्न प्रस्ताव राखेका छन । मंगलबार साझ प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने प्रस्ताव राखेका हुन । करिब साढे दुई घण्टा चलेको बैठकमा प्रधानमन्त्री ओलीले दल नमिल्ने गम्भीर समस्या आउने बताए । सरकारको नेतृत्व लिएको १७ महिनापछि पहिलोपटक उनले सर्वदलीय बैठक बोलाएर यस्तो सहयोगको आग्रह गरेका हुन्। बैठकमा प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुप्रति असहिष्णु बनेर काहिँ पुग्न नसकिने भन्दै सरकारका काम कारबाहीमै परिवर्तन गर्न सुझाव दिए । संसदप्रति पूर्ण उत्तरदायी बन्दै सरकारले ल्याएका विवादास्पद विधेयकहरु फिर्ता लिन देउवाले आग्रह पनि गरे ।
बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधन लगायतका विषयमा आफ्नो पार्टीले राखेको माग पुरा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । राजपा अध्यक्ष राजकिशोर यादवले पनि संविधान संशोधन गर्नुपर्ने बताए । बैठकमा विपक्षी नेताहरुले प्रधानमन्त्रीको स्वास्थ्यस्थितीका बारेमा पनि चासो राखेका थिए। प्रधानमन्त्री ओलीले बाहिर विभिन्न हल्लाहरु आइरहेको भन्दै आफ्नो स्वास्थ्यमा ठूलो समस्या देखा नपरेको जवाफ दिए ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३, २०७६ /Tuesday, August 20th, 2019, 9:37 pm