रवि लामिछाने फेरि ५ दिन हिरासतमै रहने, अदालतबाट म्याद थप

चितवन, भदौ ३ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका सिधा कुरा जनताका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध थप अनुसन्धान गर्न पुनः ५ दिनको म्याद थप गरिएको छ ।

चितवन जिल्ला अदालतले रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीमाथि थप अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो ।

गत बिहीबार काठमाडौंबाट पक्राउ परेका लामिछाने, कँडेल र कार्कीलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेको थियो ।

शालिकराम मृत्यु प्रकरणमा रविसहित युवराज र अस्मिताले आत्महत्या दुरुत्साहनको कसुर गरेको भन्दै तीनै जनालाई पक्राउ गरेको थियो ।

अदालतले म्याद थपेसँगै अब रवि, युवराज र अस्मिताले ५ दिनसम्म प्रहरीको हिरासतमै रहनुपर्ने भएको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३, २०७६ /Tuesday, August 20th, 2019, 5:25 pm