नेप्सेमा गिरावट, यस्ता छन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं, भदौ ३ । साताको तेस्रो दिन मंगलबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) परिसूचक ८.४३ अंकले घटेर १२१३.६३ बिन्दूमा झरेको छ । त्यस्तै यस दिन ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ७६ अंकले घटेर २ सय ६३ दशमलव १९ अंकमा पुगेर बन्द भएको छ । कुल १६५ कम्पनीको ११ लाख ७७ हजार ६४७ कित्ता शेयर २७ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कारोबार रकमका आधारमा सोल्टी होटल अगाडि रहेकोे छ । सो कम्पनीको ४ करोड ३५ लाख ८४ हजार ८९५ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै रसुवागढी हाइड्रोपावरको १ करोड ६५ लाख ६० हजार २८० रुपैयाँ, एनआईसी एशिया बैंकको १ करोड ३२ लाख ९७ हजार १७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै मंगलबारको कारोबारबाट सबैभन्दा बढी कमाउनेमा विशाल बजार कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य ५.६२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ३.७७ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य ३.४७ प्रतिशतले बढेको छ ।

उता, सबैभन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी लगानीकर्ता रहेका छन् । सो कम्पनीको शेयर मूल्य ९.५६ प्रतिशतले घटेको छ । त्यस्तै दिव्यश्वरी हाइड्रोपावरको ५ प्रतिशत, हिमालयन पावर पार्टनरको ४.९३ प्रतिशतले घटेका छन् ।

मंगलबार कारोबारमा आएका समूहमध्ये व्यापार र सामूहिक लगानी कोष समूहको परिसूचक बढेको छ भने अन्य सबै समूहको सूचक घटेको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३, २०७६ /Tuesday, August 20th, 2019, 4:11 pm