बैंकका सिइओको उमेरहद तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौ, साउन २८ । सर्बोच्च अदालतले ६५ वर्ष कटेका व्यक्ति बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन नपाउने राष्ट्र बैंकको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले मंगलबार अन्तरिम आदेश जारी गरेको हो । चालू आर्थिक वर्षको मौद्रिक नीतिका व्यवस्था कार्यान्वयनका लागि भन्दै राष्ट्र बैंकले गत २० गते सीईओ र सञ्चालकको उमेर हद तोकेको थियो ।

‘६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त वा पुनः नियुक्त हुन पाउने छैन,’ निर्देशनमा भनिएको छ, ‘कोही नियुक्त भइसकेको भए चाहिँ ६९ वर्षपछि प्रमुख कार्यकारीमा बहाल रहन सक्ने छैन ।’

यस्तै, ७० वर्ष भन्दा मुनिका व्यक्ति मात्र बैंक तथा वित्तीय संस्थामा सञ्चालक बन्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ‘७० वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त वा पुनः नियुक्त हुन योग्य हुने छैन,’ निर्देशनमा भनिएको छ, ‘कोही नियुक्त भइसकेको भए चाहिँ ७४ वर्ष नाघेको व्यक्ति सञ्चालकमा बहाल रहन सक्ने छैन ।’

यो व्यवस्था राष्ट्र बैंकले प्रस्तावित बाफियामा गरेको छ । बाफिया अहिले स्वीकृतिको क्रममा छ । त्यसअघि नै राष्ट्र बैंकले निर्देशन मार्फत यो व्यवस्था ल्याएको थियो ।

प्रकाशित मिति: मङ्लबार, साउन २८, २०७६ /Tuesday, August 13th, 2019, 10:50 pm