यसकारण नेप्सेमा गिरावट, यस्ता छन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं, साउन २८ । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २.७८ अंकले गिरावट आएर १ हजार २ सय ३१ दशमलव शून्य ७ अंकमा आएर कारोबार बन्द भएको छ । त्यस्तै यस दिन ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शून्य दशमलव ५८ अंकले घटेर २ सय ६७ दशमलव १४० अंकमा पुगेर बन्द भएको छ । कुल १६५ कम्पनीको १८ लाख ९६ हजार ४७४ कित्ता शेयर ४८ करोड १६ लाख ३३ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको छ ।

यो दिन बैंकिङ समूह १.३१ अंकले घट्यो भने होटल समूहमा २२.५२ अंक, विकास बैंक समूहमा ७.२४ अंक, जलविद्युत समूहमा १ अंक, बित्त समूहमा २.३६ अंक, निर्जीवन बिमा समूहमा ४.५१ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७.८१ अंक, अन्य समूहमा ४.७७ अंक, माइक्रोफाइनान्स समूहमा १.४२ अंक र निर्जीवन बिमा समूहमा १९.४ अंकको गिरावट आयो । यो दिन म्युचुअलफण्ड समूह स्थिर रह्यो ।

धेरै कारोबार गर्ने कम्पनी
यस दिन सबैभन्दा बढी माछापुच्छ्रे बैंकको कारोबार भएको छ, जसको १२ करोड ९६ लाख ७१ हजार २७ रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै लक्ष्मी बैंकले ८ करोड ६१ लाख १ हजार ४३०, मुक्तिनाथ विकास बैंक प्रमोटर शेयर १ करोड ९१ लाख ८२ हजार ५ सय रुपैयाँ, नेपाल बैंकले १ करोड ४५ लाख ६६ हजार ३६५ रुपैयाँ, रसुवागढी हाइड्रोपावरको १ करोड ४३ लाख ४९ हजार ७९३ रुपैयाँ बराबरको कारोबार भएका छन् ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडका लगानीकर्ताले धेरै कमाए । कम्पनीको सेयर मूल्य ७.६२ अंकले बढ्यो । त्यस्तै वोल्र्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सको ४.६३ प्रतिशत, नेपाल एग्रो लघुवित्तको ४.२२ प्रतिशत, रिडि हाइड्रोपावरको ३.४५ प्रतिशतले बढेका छन् ।

यो दिन एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले धेरै गुमाए । कम्पनीको सेयर मूल्य ३.७२ प्रतिशतले घट्यो । त्यस्तै प्रुडिन्सियल इन्स्योरेन्सको ३.४६ प्रतिशत, नेपाल सेवा लघुवित्तको ३.३७ प्रतिशत, पाँचथर पावर कम्पनीको ३.१७ प्रतिशतले घटेका छन् ।

पूँजीगत लाभकरको गणना विधिको विषयमा देखिएको अन्यौल समाधान गर्ने गरी सिडिएससीले काम सुरु गरे पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन् । अर्कातर्फ, बिग वा फोर्स मर्जरको विषयमा नेपाल राष्ट्र बैंक आफैं अलमलमा पर्दा समेत बजारमा उत्साह छाउन सकेको छैन । राष्ट्र बैंकले परिपत्रमार्फत गरेको स्प्रेड गणनाको नयाँ विधि र कतिपय महत्वपूर्ण अनुपातमा गरेको परिवर्तनबाट बैंक तथा वित्तीय संस्थाको आम्दानी र लाभांश नै घट्ने अवस्था आएपछि संभावित लाभांश दर कम हुने आँकलनसहित अधिकांश लगानीकर्ता पर्ख र हेरको रणनीतिमा छन् । समग्रमा हेर्दा बजारका लगानीकर्ताको मनोबल उकास्ने प्रयास कतैबाट भएको छैन । यहीकारण समेत लाभांश पाउने समयमा समेत बजार निरन्तर गिरावट आएको छ ।

प्रकाशित मिति: मङ्लबार, साउन २८, २०७६ /Tuesday, August 13th, 2019, 5:47 pm