नेपाल बैंकको घोटाला प्रकरण : मंगतुराम अग्रवालको रिट खारेज

काठमाडौं, साउन २८ । सर्वोच्च अदालतले नेपाल बैंकमा कमसल धितो राखी ऋण झिकेर १ अर्ब ३७ करोड रुपैयाँबराबरको नोक्सान पु-याएको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका मंगतुराम अग्रवालले हालेको रिट खारेज हुने फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले अग्रवालको रिट खारेज गरेको छ ।

कमसल धितो राखेर बैंकबाट ऋण लिएपछि साँवा ब्याज उठाउन जग्गा लिलामी प्रक्रियामा गएपछि त्यसविरुद्ध अग्रवालले सर्वोच्चमा रिट दायर गरेका थिए । व्यापारी अग्र्रवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल बैंक लिमिटेड, सिटी अफिस विराटनगर र मालपोत कार्यालय इनरुवालाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

विशेष अदालतले यसअघि अख्तियारले दायर गरेको रिटमा अग्रवालसहित सुबोधकुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, कृष्णकुमार अग्रवाल, नारायण अग्रवाल र दामोदर अग्रवाललाई एक वर्ष कैद सजाय र साँवा ब्याज गरी १ अर्ब ३७ करोड ७१ लाख ८३ हजार रुपैयाँ बिगो भराउने फैसला गरेको थियो ।

विराटनगरको प्रतिष्ठित व्यापारिक घराना ‘मंगतुराम अग्रवाल समूह’लाई विशेष अदालतले नेपाल बैंक ठगी प्रकरणमा ९ वैशाख २०६८ मा व्यापारीसहितका कर्मचारीलाई जरिमाना र कैद सजाय सुनाएको हो । विशेष अदालतको फैसला पछि जग्गा लिलामी प्रक्रियामा गएपछि ६ जनाले सर्वोच्चमा १४ भदौ २०७४ मा पुनरावेदन निवेदन दर्ता गराएका थिए । राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

प्रकाशित मिति: मङ्लबार, साउन २८, २०७६ /Tuesday, August 13th, 2019, 6:25 am