फास्ट ट्र्याकमा दबाब झेल्दै सेना, दुई वर्ष डीपीआरमै बित्यो

काठमाडौं, साउन २८ । काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा पाएको नेपाली सेना मन्त्रिपरिषद्मा पुगेको डीपीआर स्वीकृत नहुँदा दबाबमा परेको छ । सेनाले २७ साउन २०७४ मा २०७८ साउनभित्र सम्पन्न गरिसक्ने गरी सो सडक निर्माणको जिम्मेवारी पाएको थियो । तर, निर्माणको जिम्मेवारी पाएको दुई वर्ष बित्दासमेत सेनाले निर्माण अघि बढाउन आवश्यक पर्ने डीपीआरको अन्तिम निर्णय प्राप्त गर्न सकेको छैन । डीपीआर नहुँदा सेनाले सो सडकखण्डमा पुल निर्माणसहितका ठूला कामका लागि प्रक्रिया अघि बढाउन सकेको छैन ।

सेनाले गत ५ चैतमा द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को मस्यौदा रक्षा मन्त्रालयमा बुझाएको थियो भने रक्षा मन्त्रालयमार्फत गत १२ चैतमा मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्रिपरिषद्मा पुगेको पाँच महिना बित्दा समेत डीपीआरबारे सेनाले सरकारको निर्णय पाएको छैन ।

डीपीआर स्वीकृत नहुँदा पुल, पर्र्खाल र सुरुङ निर्माणलगायतका ठूला काम अघि बढ्न नसकेको हो । यस्तै, अन्य कामलाई समेत सहज बनाउन सेनाले द्रुतमार्गका सात स्थानमा बेलिब्रिज बनाएर काम अघि बढाउन तयारी थालेको छ । जसअनुसार दुई स्थानमा बेलिब्रिज जडान भइसकेको छ भने अन्य दुई स्थानमा समेत जडान गर्ने तयारी भइरहेको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेनाले डीपीआरका विषयमा सरकारको नीतिगत निर्णय कुरेर बसेको र निर्णय आएलगत्तै बाँकी सबै काम अघि बढ्ने बताए । राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

प्रकाशित मिति: मङ्लबार, साउन २८, २०७६ /Tuesday, August 13th, 2019, 6:15 am