मुलुकको जेठो वीर अस्पताल नै बिरामी

काठमाडौं, साउन १३ । मुलुकको सबैभन्दा जेठो अस्पतालका रूपमा रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल आफैं बिरामीजस्तो बन्न पुगेको छ । आज (आइतबार) बाट १३०औं वर्षमा प्रवेश गरिरहँदा अस्पताल विभिन्न समस्या भोग्न बाध्य देखिएको छ ।

स्वास्थ्य सेवामा नागरिकको पहुँच स्थापित गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री वीर शमशेरले १२ साउन १९४६ मा स्थापना गरेको वीर अस्पताल मुलुककै सबैभन्दा ठूलो अस्पताल हो । पर्याप्त बजेट र जनशक्ति अभावमा वीर अस्पताल अहिले बिरामीजस्तै भएको हो । आन्तरिक आम्दानी कम भएपछि वीर अस्पताल सरकारको अनुदानमा भर परेको छ । तर, सरकारले बेवास्ता गर्दा अस्पताल विभिन्न समस्या भोग्न बाध्य हुँदै आएको छ ।

अस्पतालमा अत्याधुनिक उपचार प्रविधिसँगै रक्त क्यान्सर, क्यान्सर स्क्यानिङ, हेमोडाइलाइसिस, एचआईभी तथा हेपाटाइटिस पोजेटिभजस्ता गम्भीर प्रकृतिका रोगको उपचार सेवासमेत उपलब्ध छ । तर, आवश्यक जनशक्ति र पर्याप्त बजेट अभावका कारण बिरामीले सहज र सरल तरिकाले सेवा पाउन सकेका छैनन् ।

त्यस्तै, समयमा पालो नआउने, अस्पतालमा आईसीयू बेड नपाइने, अस्पतालभित्रैको फार्मेसीमा औषधि अभाव हुने र राति फार्मेसी बन्द हुँदा बिरामी भौंतारिनुपर्ने बाध्यता छ । बिरामीको एउटै गुनासो छ, ‘हामीलाई त कसैले पनि मतलव गर्दैैनन् ।’

विगत एक वर्षको अवधिमा अस्पतालको इमर्जेन्सीसहित ओपीडीबाट ४ लाख २२ हजार ८ सय १ जनाले सेवा लिएका छन् । दैनिक १ हजार १ सय ५८ जना बिरामी वीर अस्पतालमा पुग्ने गरेको देखिन्छ । यस्तै, ६ हजार ८ सय ७७ जनाले इमर्जेन्सीसहितको सेवा लिएको अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले बताए । राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रकाशित मिति: सोमवार, साउन १३, २०७६ /Monday, July 29th, 2019, 6:38 am