नेपालद्वारा मलेशिया पराजित, ज्ञानेन्द्रको कीर्तिमान व्याटिङ

काठमाडौं, साउन ८ । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले पहिलो जित हात पारेको छ ।

बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । पहिलो खेलमा कतारसँग हार बेहोरेको नेपाललाई जितले ठूलो राहत मिलेको छ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतकीय इनिङ्स खेले । नियमित कप्तान पारस खड्का चोटका कारण मैदानबाहिर रहेपछि मलेसियाविरुद्ध कप्तानी गरेका मल्लले २१ बलमा ५१ रन जोड्दै कीर्तिमानी अर्धशतक बनाए । मल्ल २१ बलमा ५ चौका र ३ छक्कासहित ५१ रनमा क्याच आउट भए ।

योसंगै मल्ल नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने पहिलो खेलाडी बने । यसअघि छिटो अर्धशतक विनोद भण्डारीको नाममा रहेको थियो । विनोदले गत साता मलेसियाविरुद्धको सिरिजमा २५ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए ।

यस्तै ओपनरद्वय ज्ञानेन्द्र र प्रदिप ऐरीले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरे । पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेका टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको साझेदारीको कीर्तिमान बनाएका हुन् । यसअघि मंगलबार कतारविरुद्ध कप्तान पारस खड्का र ज्ञानेन्द्रले ४९ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए ।

यस्तै नेपालका लागि विनोद भण्डारीले अविजित १३ तथा प्रदिप ऐरीले १२ रन बनाए । मलेसियाका लागि मुहमद स्याहदादले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरै ९ ओभर खेल्दै ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । वर्षाले प्रभावित गरेपछि झन्डै ३ घण्टा ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको थियो ।

मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रन जोडे । यस्तै भिरनदिप सिंहले २१ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले १–१ विकेट लिए । जितसंगै नेपालले २ खेलबाट २ अंक जोडेको छ ।

पहिलो खेलमा बेहोरेको हार र कप्तान पारस खड्का घाइते हुँदा दबाबमा रहेको नेपाललाई मलेसियाविरुद्धको जितले राहत दिलाएको छ।

अब नेपालले २ दिन आराम गरेर अन्तिम २ खेल खेल्नेछ। जुन खेलका लागि कप्तान पारस पूर्ण फिट हुन सक्छन्। नेपालले शनिबार कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आइतबार अन्तिम खेलमा आयोजक सिंगापुरको सामना गर्नेछ। यी दुवै खेल जिते नेपाल विश्व छनोटमा पुग्नेछ।

नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल ९कप्तान०, रोहितकुमार पौडेल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनाश बोहरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी र प्रदिप ऐरी ।

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६ /Wednesday, July 24th, 2019, 11:29 am