आजदेखि स्थानीय तहको परीक्षा लिँदै लोकसेवा, विज्ञापन रद्दको माग जारी

काठमाडौं, साउन ४ । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विभिन्न सेवा समूह तथा उपसमूहको परीक्षा आजबाट सुरु भएको छ । आयोगले गत जेठ १५ मा स्थानीय तह मात्रका लागि विशेष कार्यतालिका बनाएर ९ हजार १६१ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको थियो । आयोगले गरेको विज्ञापन समावेशी सिद्धान्तविपरीत रहेको भन्दै संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले रद्द गरी करारमा कर्मचारी भर्ना गर्न निर्देशन दिएको थियो । तर, यससम्बन्धी मुद्दा अदालतमा परेसँगै अदालतले विज्ञापन जारी राख्ने पक्षमा फैसला गरेको थियो । के हुने भन्ने अन्योलबीच आयोगको परीक्षाले निरन्तरता पाएको छ । परीक्षामा साढे चार लाखको संख्यामा परीक्षार्थी सहभागी हुने आयोगले जनाएको छ । पदअनुसार परीक्षाको मिति भने फरकफरक रहेको छ ।

आयोगले सञ्चालन गर्ने परीक्षाका क्रममा परीक्षा हलभित्र मोबाइल, झोला तथा विद्युतीय सामग्री लैजान प्रतिबन्ध गरेको छ । आयोगले सार्वजनिक गरेको सूचनामा परीक्षार्थीलाई झोला र मोबाइलसमेत परीक्षा केन्द्रको गेटभन्दा भित्र लैजान निषेध गरिएको छ । यसअघि परीक्षार्थीलाई परीक्षा हलभित्रै झोला र मोबाइल लैजान दिइन्थ्यो । तर, ती झोला र मोबाइल निरीक्षकले तोकिदिएको स्थानमा राखेर मात्र परीक्षामा बस्न पाइन्थ्यो । तर, आजबाट सुरु हुन लागेको परीक्षामा भने गेटबाट पनि भित्र लैजान निषेध गरिएको छ । लोकसेवा आयोगले सूचना जारी गर्दै भनेको छ, ‘परीक्षालाई मर्यादित बनाउन परीक्षामा सामेल हुने परीक्षार्थीहरूले परीक्षा हलमा झोला, मोबाइल तथा अन्य इलेक्ट्रोनिक डिभाइस लैजान निषेध गरिएको छ । त्यस्ता सामग्री परीक्षा केन्द्रको गेटबाट भित्र लैजान नदिइने बेहोरा सूचित गरिन्छ ।’

विज्ञापन रद्दको माग जारी
यता परीक्षाको पूर्वसन्ध्यामा समेत विज्ञापन रद्दको मागसमेतले निरन्तरता पाएको छ । यो विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजाति महासंघलगायत आरक्षण बचाऊ अभियानले आन्दोलन गर्दै आएको छ । आन्दोलनका क्रममा अभियानले शुक्रबार भृकुटीमण्डपमा जम्मा भएर विरोध गरे विरोध ¥यालीमा सहभागीले विज्ञापन रद्द गनुपर्ने माग राख्दै नाराबाजीसमेत गरेका थिए । विगत केही दिनदेखि अभियानले लोकसेवा आयोगको केन्द्रीय कार्यालय अनामनगर अघि र माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: शनिबार, साउन ४, २०७६ /Saturday, July 20th, 2019, 8:05 am