अध्यापन भन्दा पार्टी राजनीतिको स्वार्थ, यी हुन् राजनीतिमा सक्रिय ललितपुरका शिक्षक

रामहरि कार्की/ललितपुर, साउन २ । नेपालका शैक्षिक क्षेत्रलाई हेर्ने हो भने दिन प्रतिदिन शिक्षाको स्तर घटदै गईरहेको पाईन्छ । शिक्षा क्षेत्रमा मनोमानी रुपमा राजनितिको प्रवेशका कारण दिन प्रति दिन शैक्षिकस्तरमा गिरावट मात्र आईरहेको छैन । सरकारले शिक्षा क्षेत्रमा अर्बौ लगानी गरेता पनि बालुवामा पानी जस्तै भईरहेको छ ।

वर्षेनी शिक्षाको गुणस्तरमा कमी हुनुको महत्वपूर्ण कारण भनेकै शिक्षकहरुलाई राजनितिमा प्रवेश खुकुलो पार्नु नै पहिलो कारण हो । शिक्षकहरु विद्यालयको पठनपाठनमा भन्दा पनि बढि जसो आफ्नो राजनैतिक संघ संगठनको काममा व्यस्त हुनुले दिनहँु सामुदायिक विद्यालयको शैक्षिक गुस्तस्तर खस्कदै गएको छ ।

शिक्षण पेशा भनेकैं विषयबस्तुमा नयाँ नयाँ खोज तथा अनुसन्धान गरि विद्यार्थीहरुमा नयाँ नयाँ कुराहरुको अवलम्वन गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्दै विद्यालयलाई थप उचाईमा पुर्याउनु हो तर हरेक राजनितिक दलको राजनितिक सदस्यतामा तछाड मछाड गर्दै गरेका शिक्षकहरुले कसरी विद्यालयको शैक्षिक स्तर उकास्नमा आफनो ध्यान केन्द्रीत गर्न सक्लान ? राज्यको अर्बौ अर्बौ लगानी शिक्षामा हुँदा हुदै पनि विद्यालयमा शिक्षण गर्ने गराउने शिक्षक भने हरेक पार्टी पक्तिको झण्डामुनी झुण्ड भएर कार्य गर्दा अनि के शिक्षामा परिवर्तन सम्भव छ त ? यस्तै गम्भिर प्रश्न उम्जिएको छ ललितपुरमा ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शिक्षा ऐनविपरीत शिक्षकलाई कार्यकारिणी पदमा नियुक्त गरेको छ । केही दिनअघि मात्र बनेको नेकपा ललितपुरको जिल्ला समितिमा ७ जना शिक्षकहरु नियुक्त भएका छन् । १ सय ५५ जना जिल्ला सदस्यमध्ये ७ जना शिक्षकलाई सदस्यको जिम्मेवारी दिइएको हो ।

नेकपाको सक्रिय राजनीतिक कार्यकर्ता बन्दै जिल्ला सदस्यमा नियुक्त हुनेहरुमा २ जना त प्रधानाध्यापक नै छन् । पूर्व एमालेबाट ५ जना र पूर्व माओवादी केन्द्रबाट २ जना शिक्षक जिल्ला समितिमा राखिएका छन् ।

यसअघिको नेकपा एमाले ललितपुरका जिल्ला समितिमा काम गरिसकेका बागमती–२ स्थित नागदेवी आधारभुत विद्यालयका प्रधानाध्यापक ठाकुरमान लामाले हालको नेकपाको जिल्ला समिति सदस्यको जिम्मा लिएका छन् ।

त्यस्तै महांकाल गाउँपालिका वडा नं. ४ स्थित कालेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक रमेश बजगाईले पनि नेकपा ललितपुरको जिल्ला समिति सदस्यको सपथ ग्रहण गरेका छन् ।

यस्तै विश्वामित्र गणेश मावि महालक्ष्मी–९ वनभारा लामाटारका शिक्षक चिरञ्जिवी आचार्य पनि जिल्ला समिति सदस्यमा राखिएको छ । महांकाल उच्च मावि गोटीखेल प्रावि तहको स्थायी शिक्षक विमला घिमिरे, गुप्तेश्वरी मावि नल्लुमा प्रावि तहको स्थायी शिक्षक शेर बहादुर तामाङलाई पनि जिल्ला कमिटिको सदस्यको रुपमा सपथ खुवाइएको छ ।

पूर्वमाओवादी केन्द्र निकट एकीकृत नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्यहरु भिमप्रसाद गेलाल र कृष्ण काजी महर्जनलाई पनि पार्टीको ललितपुर जिल्ला कमिटी सदस्यको सपथ खुवाइएको छ । गेलाल तोइना विना गणेश आधारभुत विद्यालय, नखिपोट, ललितपुर प्रावि स्थायी शिक्षक र महर्जन सरस्वती मावि ठेचोमा प्रावि तहको स्थायी शिक्षक हुन् ।

शिक्षा ऐन २०२८, ९ औं संशोधनको दफा १६ (ङ) शिक्षक युनियन, शिक्षक तथा कर्मचारीको पदीय आचारण तथा व्यवस्थाको खण्ड ५ (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षकलाई पदबाट हटाइने व्यवस्था रहेको छ । सो खण्डको स्पष्टीकरणमा राजनीतिक दलको कार्यकारिणी समिति भन्नाले राजनीतिक दलको बिधानबमोजिम गठित केन्द्रीय स्तर, प्रदेश स्तर, जिल्ला स्तर वा स्थानीय तहस्तरको कार्यकारिणी समितिलाई बुझिने स्पष्ट उल्लेख छ ।

कानुनविपरीत काम गर्न छुट छैनः प्रवक्ता अर्याल
शिक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव बैकुन्ठ अर्यालेले कानुनविपरीत काम गर्ने जोसुकै शिक्षक कर्मचारीलाई छुट नरहेको बताएका छन् । शिक्षकहरु राजनीतिक दलको कार्यकारिणी पदमा बसेर कार्य गर्न नहुने शिक्षा ऐन नियमावलीमा प्रष्ट व्यवस्था गरेको बताए ।

विद्यालयमा राजनीति घुसाइएको बिषयलाई शिक्षकको स्वविवेक भन्छन्, अध्यक्ष ब्यञ्जनकार
बहालवाला शिक्षकहरुलाई पार्टीको जिल्ला समितिमा राखिएको विषयमा प्रतिक्रिया माग्दा नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यजनकारले शिक्षकहरुले पार्टीमा गरेको योगदानस्वरुप जिल्ला सदस्यमा नियुक्त गरिएको जवाफ दिए । उनले पुरानो परिपाटीले निरन्तरता पाएको बताइरहदा विद्यालय, कलकारखाना, स्वास्थ्य, प्रशासन सबै–सबै ठाउँमा यसरी राजनीतिक भागबण्डा र स्वार्थ पूरा गर्ने खेल भैरहेको छ । शिक्षाको गुणस्तर सुधार्नुपर्ने र बन्द हड्तालमुक्त बनाउनुपर्ने क्षेत्रमै यसरी राजनीति गर्ने दलहरुले कसरी सुधार्लान सरकारी तथा सामुदायीयक शिक्षा प्रश्न गम्भिर छ ।

अक्मक्किए प्रधानाध्यापक लामा
नेकपा जिल्ला समिति सदस्य नियुक्त भएका पूर्व एमालेको पनि जिल्ला सदस्य भएर काम गरिसकेका नागदेवी आधारभुत विद्यालयका बागमति –२ माल्टाका प्रधानाध्यापक ठाकुरमान लामाले पेशागत प्रतिनिधित्व गरी पार्टीको कार्यकारी जिम्मेवारीमा राख्ने पुरानो प्रचलन भएको बताए । ‘पहिले पनि म एमालेको १ कार्यकाल जिल्ला सदस्य भइसकेको हुँ, अहिले भए नभएको थाहा छैन ।’ उनले भने । बहालवाला शिक्षकले पार्टीको कार्यकारी जिम्मेवारी लिँदा शिक्षा नियमावली विपरित भयो नि, भन्ने प्रश्न राख्दा लामा अक्मक्किए ।

पढाईमा भन्दा पार्टीमा ध्यान : संयोजक भण्डारी
यता नेपाल अभिभावक संघका संयोजक सुप्रभात भण्डारीले पनि विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने शिक्षकहरुलाई कारबाही गर्नुपर्ने बताए । ‘शिक्षकहरु नै सक्रिय राजनीतिमा लागेपछि पढाईमा भन्दा बढी पार्टीमा ध्यान हुन्छ, अनि विद्यार्थीले के सिक्ने ?’ भण्डारीले भने । ऐनविपरीत कार्य गर्ने छुट कसैलाई नभएको उनले बताए । सरकार चलाउने, पार्टीले नै कानुनको उल्लंघन गरेको भन्दै उनले आपत्ति जनाए ।

प्रकाशित मिति: बिहिबार, साउन २, २०७६ /Thursday, July 18th, 2019, 11:29 am