अवरुद्ध सडक सञ्चालनमा

काठमाडौं, साउन १ । बिहीबारदेखिको अविरल वर्षा र बाढीका कारण अवरुद्ध भएका अधिकांश सडकमा यातायात सञ्चालनामा आएका छन् ।

खासगरी मकवानपुर, सिन्धुली, रामेछाप, भोजपुर, धनकुटा, ओखलढुङ्गा, रौतहट महोत्तरीलगायत जिल्लाका विभिन्न सडक अवरुद्ध भएका थिए । त्यस्तै मुस्ताङ, मनाङ, पाल्पा, कालीकोटमा पनि सडकहरू अवरुद्ध भएका थिए ।

पूर्व–पश्चिम राजमार्गको महोत्तरीमा पर्ने भप्सी खोलाको पुल बग्दा सोमबार यातायात अवरुद्ध भएको थियो । त्यहाँ अहिले नयाँ डाइभर्सनमार्पmत सडक सञ्चालन गरिएको छ । सडक विभागका प्रवक्ता शिवहरि सापकोटाका अनुसार त्यहाँ तत्काल बेलीब्रिजसमेत जडान गर्ने तयारी भइरहेको छ ।

“विभागले बर्खा लाग्नुपहिले नै आवश्यक तयारी गरेको थियो । विभाग मातहत देशैभरका विभिन्न कार्यालयका एक्सक्याभेटर, डोजरजस्ता उपकरण तयारी अवस्थामा राखिएको थियो,” सापकोटाले थप्नुभयो ।

मुस्ताङको थासाङ घोप्टेभीरमा कालीगण्डकी नदीले सडक बगाउँदा शुक्रबारदेखि अवरुद्ध बेनी–जोमसोम सडकमा पनि यातायात सञ्चालनमा आएको छ । त्यहाँ अहिले एकतर्फी रुट मात्र सञ्चालनमा ल्याइएको छ । पृथ्वी राजमार्गमा पनि यातायात सञ्चालनमा अब कुनै अवरोध छैन । त्रिभुवन राजपथको यातायात पनि निर्वाध चलिरहेको छ तर निर्माणाधीन हेटौँडा–कुलेखानी–काठमाडौँ सडकमा भने समस्या देखिएको छ ।

तराईको रौतहट र महोत्तरीका सडक पानीको मात्रा घट्दै गएपछि सञ्चालनमा आउन थालेको विभागले जनाएको छ । खासगरी सडक नहुँदा राहत र उद्धारमा समस्या परेको गृह मन्त्रालयले सूचित गरेपछि सडकको तत्काल मर्मतका लागि तीव्रता दिइएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । अवरुद्ध बीपी राजमार्गमा पनि यातायात सञ्चालनमा आएको जनाइएको छ ।

मध्यपहाडी राजमार्गको सिन्धुली क्षेत्रमा बहादुरे खोला, सोलु खोला र खाङसाङ खोलामा आएको पहिरोले सो राजमार्ग पनि शुक्रबारदेखि अवरुद्ध थियो तर अधिकांश स्थानमा सिङ्गल ट्र्याक खोलेर सुचारु बनाइएको उहाँले बताउनुभयो ।

ओखलढुङ्गाको सिद्धिचरण राजमार्गमा पनि अवरोध हटाउने कार्य जारी रहेको विभागले जानकारी दिएको छ । त्यस्तै बुटवल–पाल्पा जोड्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड भने अझै चुनौतीपूर्ण छ । विगतका वर्षमा समेत संवेदनशील बन्ने गरेको सो क्षेत्रमा एकतर्फी यातायात चलाउने प्रयास भइरहेको छ तर पहिरो आउने क्रम जारी रहँदा यातायात कुनै बेला बन्द कुनै बेला खुला रहने अस्थिर अवस्था रहेको जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: बुधबार, साउन १, २०७६ /Wednesday, July 17th, 2019, 6:44 am