भोलि देखि इन्टरनेटको महसुल बढ्ने

काठमाडौँ, असार ३१ । इन्टरनेट सेवा प्रदायकहरुले भोलि बुधबार (साउन १ गते) देखि इन्टरनेटको मूल्य बढाउने भएका छन् ।

गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले ग्राहकले तिर्नुपर्ने इन्टरनेट शुल्क नबढाउने सहमति गरे पनि सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क सिधै ग्राहकबाटै उठाउने निर्णय गरेका हुन् ।

सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क अब १३ प्रतिशत महंगो हुने भएको छ ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले गत वर्ष गरेको सहमति सरकारले कार्यान्वयन नगरेकाले आफूहरुले दूरसञ्चार सेवा शुल्क सर्वसाधारणबाटै उठाउने निर्णय गरेको बताए ।

‘गत वर्ष सरकारले दूरसञ्चार नियमावली संशोधन गरी सरकारले कर छुट गर्ने र आधा रकम इन्टरनेट सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको थियो, तर सरकारले नियमावली स‌ंशोधन गरेन, त्यसपछि हामीले सिधै ग्राहकबाट उठाएर सरकारलाई बुझाउने निर्णय गरेका हौं ।’ उनले भने

सरकारले दूरसञ्चार नियमावली संशोधन नगरेकाले आफूहरुलाई धेरै आर्थिक भार परेकाले ग्राहकहरुसँग उठाउने निर्णय गरेको भट्टको भनाइ छ । अब इन्टरनेट प्रयोगकर्ता ग्राहकले आफूले तिर्दै आएको शुल्कमा १३ प्रतिशत शुल्क थपेर तिर्नुपर्नेछ ।

इन्टरनेटको मूल्य बढ्ने सेवा प्रदायकहरुको निर्णय बारेमा सरकारले भने हालसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन। विश्वकै महँगो इन्टरनेट प्रयोग गर्नेमा नेपाल पनि धेरै अगाडि छ।

प्रकाशित मिति: मङ्लबार, असार ३१, २०७६ /Tuesday, July 16th, 2019, 5:11 pm