नेपालले मलेसियालाई दियो १७४ रनको लक्ष्य

काठमाडौं, असार २९ । मलेसिया विरुद्धको टि–२० सिरिजको दोस्रो खेलमा नेपालले मलेसियालाई १७४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनायो ।

नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । योसँगै विनोद टी–ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका छन् । यसअघि नेपालका कप्तान पारस खड्का, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।

यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भए ।

बलिङमा मलेसियाका फित्री शामले ३, शरभिन मुनिन्दे र सायीदले एकएक विकेट लिए ।

सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग दुई खेलको सिरिज खेलिरहेको हो । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिन स्विप’ गर्ने ऐतिहासिक अवसर छ । आईसीसीबाट टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो ।

प्रकाशित मिति: आइतवार, असार २९, २०७६ /Sunday, July 14th, 2019, 9:28 am