मलेशिया नेपालसँग ७ विकेटले पराजित

काठमाडौं, असार २८ । मलेशियामा जारी पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितका कप्तान पारस खड्काले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले । ओपनरका रुपमा आएका कप्तान पारसले ३२ बलमा ५० रन पुरा गरेका थिए ।

योसँगै कप्तान पारस टी–ट्वान्टी अन्तर्राष्ट्रियमा दुई अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । यस्तै पारस टी–ट्वान्टी अन्तर्राष्ट्रियको एकै इनिङ्समा सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् ।

नेपालले अहिलेसम्म ३ खेलाडीले मात्र टी–ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाएका छन् । कप्तान पारससँगै सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।

यस्तै नेपालको जितमा शरद भेषवाकरले अविजित १६ रन बनाए । ओपनर प्रदिप ऐरी ९, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ र रोहित कुमार पौडेल ५ रनमा आउट भए ।

मलेसियाका अनवर रहमानले २ तथा मोहमद फिट्रीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

मलेसियाका लागि भिरन दिप सिंहले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । अहमेद फाइज मोहमद नुरले ४५ रन बनाए । यस्तै मोहमद फिट्रीले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि करण केसीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मी र सन्दीप लामिछानेले २–२ विकेट लिए । सोमपाल कामीको नाममा १ विकेट रह्यो ।

योसंगै नेपालले घरेलु टोलिविरुद्धको २ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब भोली नेपालले दोस्रो खेल खेल्नेछ ।

यी हुन् नेपालको प्लेइङ–११ मा मौका पाएका खेलाडी
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी ।

प्रकाशित मिति: शनिबार, असार २८, २०७६ /Saturday, July 13th, 2019, 11:01 am