बाढीले १७ को ज्यान लियो थुप्रै बेपत्ता, उपत्यकाका केही स्थान डुबानमा

काठमाडौ, असार २७ ।
लगातारको अविरल वर्षाले देशैभरीको जनजीवन प्रभावित बनाउनुको साथै ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ । गएरातीदेखि जारी वर्षाले देशका थुप्रै स्थानमा पहिरो गएको छ भने खोला तथा नदीमा बाढी आएको छ । काठमाडौ उपत्यकाको तीनै जिल्लाका केही स्थान डुबानमा पर्दा तराईका जिल्लाहरु प्राय डुबानमा परेका छन् । बाढीपहिरोले अहिलेसम्म १७ जनाको ज्यान गइसकेको छ भने ७ जना बेपत्ता भएका छन् । गृहमन्त्रालयको बेलुकी दिएको तथ्यांकअनुसार देशैभरी बाढीपहिरो र डुबानको जोखिम रहेको छ ।

गृहमन्त्रालयले आपत्‌कालीन उद्धारका लागि सरकारी संयन्त्र चुस्त राखेको बताएको छ। तर रात पर्दै जाँदा पनि पानी नरोकिँदा सम्म ठाउँ र नदी किनारका बासिन्दामा त्रास फैलिएको छ। यस्तै पहाडी र हिमाली भेगका बासिन्दा पहिरोको डरमा छन्। ठूला नदीहरुको बहाव बढ्दै गएको छ । राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारीसाधनहरु रोकिएका छन् । पहाडी र हिमाली जिल्लाहरुमा पहिरोको जोखिम बढेको छ । प्राय थुप्रै जिल्लाको सदरमुकाम र ग्रामीण भेगसङ्गको सम्पर्क टुटेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६ /Friday, July 12th, 2019, 11:13 pm