पहिरो खसेपछि कान्तिलोकपथ सडक फेरि अवरुद्ध

ललितपुर, असार २७ । ललितपुरबाट हेटौडा जोड्ने कान्तिलोकपथ सडकखण्डको विभिन्न ठाउँमा पहिरो जादा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टाकुर्चे, भालुखोला, नयाँ गाउँ खोल्छा, तामाखानी, गोगनघारी, घट्टेपाखामा पहिरो गएको छ ।

सडक कमजोर भएकोले जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रहरीले सर्वधारणलाई आग्रह गरेको छ । विस्तारका क्रममा सडकका धेरै ठाउँमा भित्तो काटिएपछि पानी परेसँगै ठाउँठाउँमा पहिरो खसेको थियो ।

बेला बेलामा बाटो अवरुद्ध हुँदा दक्षिण ललितपुरका कृषकहरुको हजारौं लिटर दुध संकलन प्रभावित हुँदा कृषकलाई लाखौं रुपैयाँ बराबरको नोक्सान भएको भट्टेडाडाका स्थानीय दिपक घिमिरे समिरले दैनिकीन्युजलाई बताए ।

निर्माणाधिन कान्तिलोक पथको ९० किलोमिटर सडकमध्ये मकवानपुरतर्फ ५१ र ललितपुरतर्फ ३९ किलोमिटर पर्छ । वि. स. २०१३ मा सुरु भएको आयोजनाको ट्र्याक २०१६ मा खोलिएको थियो । सडकको चौडाइ साढे आठ मिटर छ । तीनपाने, भालुखोला, नयाँगाउँ, छपेली, काल्चेभी, सिमात, मकवानपुरगढीलगायतका स्थानमा जोखिम छ ।

यता मकवानपुर जिल्ला खण्ड अन्तर्गत पर्ने भिमफेदी गाउँपालिका ८ कोगटे, कालोपहिरो भन्ने ठाउँमा सोमबार दिउँसो पहिरो र मंगलबार बिहान लेनडाडा सिमात खोला नजिकै ठुलो ढुङ्गा खस्दा राजपथ अबरुद्ध बनेको प्रहरीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६ /Friday, July 12th, 2019, 8:01 am