डिएसपी सापकोटाको गोदावरीमा पहिलो एक्सनः एकै दिन २२ जुवाडे पक्राउ

ललितपुर, असार २७ । ललितपुर प्रहरीले ४ लाख ५७ हजार ६ सय ८५ नगद सहित २२ जना जुवाडेलाई पक्राउ गरेको छ । ललितपुरको टाहाखेल र सुनाकोठी क्षेत्रमा रहेका जुवा अखडाबाट उनीहरुलाई जुवा खेलिरहेको अबस्थामा महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी रामकृण सापकोटाको टोलीले २२ जनालाई नगदसहित प्रकाउ गरेको हो । सापकोटा एकहप्ता अगाडि मात्र चापागाउँ वृत्तको नेतृत्व सम्हालेका डिएसपी हुन् ।

बिहीबार बेलुका ललितपुर महानगरपालिकाको सुनाकोठीको ओखट भन्ने स्थानबाट नगद ४७ हजार ९ सय ३० सहित ८ जनालाई पक्राउ गरेको डिएसपी सापकोटाको भनाई छ ।

त्यसैगरी गोदावरी नगरपालिका वडा नं. १० टाहाखेलमा अजय तामाङले सञ्चालन गरेको मिनिभ्यू कटेज एण्ड बारमा ५ लाख ९ हजार ७ सय ५५ नगद सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सुनाकोठी ओखटबाट पक्राउ पर्नेहरुमा अदिप राई, अशोक राई, दीपेन्द्र राई, मान बहादुर श्रेष्ठ, अनुप नगरकोटी, जीवन लामा, रेन्जी शेर्पा र दीप तामाङ रहेको छन् ।

त्यस्तैगरी गोदावरी नगरपालिका वडा नं. १० टाहाखेलबाट पक्राउ पर्नेहरुमा कृष्णचन्द्र देशार, सन्चलाल पाख्रिन, सन्तोष बजगाई, राजु तामाङ, विजय तामाङ, नारायण भोम्जन तामाङ, झलक तामाङ, विषे तामाङ, कान्छा तामाङ, रवि महर्जन, कुमार भोम्जन, हेम बहादुर तामाङ, अजय तामाङ र आशा तामाङ रहेका छन् ।

गत असार २३ गते ललितपुरको गोदावरी क्षेत्रमा रहेको वृन्द्राबन सिसोर्टबमा जुवा खेलिरहेको अबस्थामा महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रको टोलीले ७ जनालाई ११ लाख नगदसहित प्रकाउ गरेको थियो । उनीहरुले मोबाइल टीम बनाएर कहिले काठमाडौ त कहिले ललितपुरमा जुवा खेल्ने गरेको प्रहरीलाई प्रारम्भिक बयानबाट खुल्न आएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६ /Friday, July 12th, 2019, 12:08 am