भारतलाई हराउँदै न्यूजिल्याण्ड विश्वकपको फाइनलमा प्रवेश

काठमाडौं, असार २५ । न्युजिल्याण्ड इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

म्यानचेस्टरमा बुधबार रोमान्चक बनेको पहिलो सेमिफाइनलमा उपाधि दाबेदार भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड उपाधि नजिक पुगेको हो ।

ओल्ड ट्राफोर्डमा न्युजिल्याण्डले दिएको २४० रनको सामान्य लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २२१ रनमा समेटियो ।

उसका लागि रविन्द्र जडेजाले ७७ र महेन्द्रसिंह धोनीले ५० रन बनाए पनि टिमलाई जीत दिलान सकेनन् । यस्तै ऋषभ पन्त, हार्दिक पाण्ड्याले ३२–३२, विराट कोहली, रोहित शर्मा र केएल राहुलले १–१, दिनेश कार्तिकले ६ र युजवेन्द्र चहलले ५ रनको योगदान दिए । बलिङमा म्याट हेनरीले ३, मिचेल सान्टनर, ट्रेन्ट बोल्टले २–२, लकि फग्र्युसन र जिमी नीशमले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन बनायो । उसका लागि रस टेलरले ७४, कप्तान केन विलियम्सनले ६७, हेनरी निकोलशले २८, कोलिन डी ग्राण्डहोमले १६, जिमी नीशमले १२, टम लाथमले १०, मार्टिन गुप्टिल, म्याट हेनरीले एकएक, मिचेल सान्टनरले नट आउट ९ र ट्रेन्ट बोल्टले ३ रन बनाए । बलिङमा भारतका भुवनेश्वर कुमारले ३, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, युजवेन्द्र चहल र रविन्द्र जडेजाले एक–एक विकट लिए ।

अब न्युजिल्याण्डले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछ । साबिकको विजेता अष्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल खेल बिहिबार हुनेछ ।

प्रकाशित मिति: बुधबार, असार २५, २०७६ /Wednesday, July 10th, 2019, 8:48 pm