हङकङलाई हराउँदै नेपाल एसिसी यू–१९ एसिया कपमा छनौट

काठमाडौँ, असार २४ । मलेसियाको किनरारा ओभलमा मैदान मंगलबार सम्पन्न फाइनलमा हङकङलाई हराउँदै नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय च्याम्पियन बनेको छ। च्याम्पियन बन्दै नेपाल यू–१९ एसिया कपमा छनौट भएको छ।

फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले जीत हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले चार विकेट गुमाएर १६.१ ओभरमा भेटाएको थियो।

नेपालका पवन सर्राफले ३९ रन जोडे। ३६ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे। यस्तै रित गौतमले १३, रोहितकुमार पौडेलले १२ तथा खडकबहादुर बोहराले ८ रन जोडे।

त्यसअघि स्पिनर सागर ढकालले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि हङकङ ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा समेटिएको थियो । हङकङका अदित गोरावाराले २४, काल्हन मार्क चालुले १९ तथा रौनक कपुरले १२ बाहेक अन्यले होरो रन जोड्न सकेनन् ।

नेपालका सागरले १० ओभरमा १८ रनमात्रै खर्चेर उत्कृष्ट ५ विकेट लिए। यस्तै कमलसिंह ऐरीले ३ तथा कुशल मल्ल र तिलकराज भण्डारीले १–१ विकेट लिए ।

विजेता नेपालले अब श्रीलंकामा अगष्ट २८ देखि सेप्टेम्बर ८ सम्म एसिसी यू–१९ एसिया कप खेल्नेछ। प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेतसँगै नेपाल रहनेछन् ।

प्रकाशित मिति: मङ्लबार, असार २४, २०७६ /Tuesday, July 9th, 2019, 1:55 pm