नेपाल एसिसी यू–१९ को फाइनलमा

काठमाडौं, असार २३ । नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

साबिकको विजेता समेत रहेको नेपालले अब फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ । मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५।५ ओभरमा ३ विकेटको नोक्सानीमा पार गर्‍यो।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ३१ रन र भीम सार्कीले नटआउट ३३ रन जोडे। रोहितले २९ बलमा २ चौका र १ छक्का हिर्काए। भीमले ३४ बलमा २ चौका र १ छक्का नै प्रहार गरे।

ओपनर पवन सर्राफ १८ रनमा आउट भएका थिए। उनले १६ बलमा १ चौका र २ छक्का हिर्काए। अघिल्लो खेलमा शतक हिर्काएका रित गौतम ३ रन र खडकबाहादुर बोहोरा शून्यमा आउट भए।

बलिङमा मलेसियाका मोहमद खइरले २ विकेट र मोहमद अमिरले १ विकेट हात पारे। सअघि क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४०.५ ‌ओभरमा ८७ रनमा अलआउट भयो।

मलेसियाका लागि मोहमद अमिरले सबैभन्दा बढी २४ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे।

बलिङमा नेपालका सागर ढकालले ३ विकेट लिए। सागरले १० ओभरमा ३ मेडन राख्दा १६ रन खर्चिए। कुशल मल्लले २ विकेट हात पारे। कमलसिंह ऐरी, रासिद खान र तिलकराज भण्डारीले १(१ विकेट लिए।

फाइनल खेल मंगलबार हुनेछ । उपाधि विजेता टिम यू-१९ एसिया कपमा छनोट हुने छन् । एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

समूह चरणमा अपराजित रहँदै नेपाल समूह विजेता बनेको थियो । पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति: सोमवार, असार २३, २०७६ /Monday, July 8th, 2019, 12:05 pm