यु १९ एसिया कप छनोट: सिंगापुरविरुद्ध नेपाल २१७ रनले विजयी

काठमाडौं, असार २० । यु १९ एसिया कप छनोट क्रिकेटमा सिंगापुरलाई २ सय १७ रनले पराजित गर्दै नेपाल विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ३ सय २६ रन बनाएको थियो । नेपालले सिंगापुर ३ सय २७ रनको लक्ष्य दिएकोमा सिंगापुर ३९.१ ओभरमा १ सय ९ रनमा अलआउट भएको हो ।

खेलमा नेपालका लागि कुशल मल्लले चार विकेट लिए । यस्तै तिलक राज भण्डारीले दुई विकेट लिए भने सागर ढकाल र रसिद खानले एक/एक विकेट लिए ।

नेपालका लागि रित गौतमले १३७ बलमा ११५ रन, पवन सर्राफले ४१ बलमा ४५ रन, खडक बहादुर बोहराले ९० बलमा ९० रन सातै कुशल मल्लले २३ बलमा ५१ रन बनाएका थिए ।

बुधबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । योसँगै समूहको शीर्ष स्थानमा रहेको नेपालले अर्को समूहको उपविजेतासँग सेमीफाइनल खेल्नेछ ।

समूह बी मा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड रहेका छन् । प्रतियोगिताको विजेताले अगस्ट २८ देखि श्रीलंकामा हुने यु १९ एसिया कप खेल्न पाउने छ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६ /Friday, July 5th, 2019, 3:50 pm