निजामती कर्मचारी अस्पतालमा बेथिति, ९ करोड घाटामा तर बाँडियो ४० लाख भत्ता

काठमाडौं, असार १९ । सहुलियत दरमा सरकारी कर्मचारीको उपचार गर्ने देशकै एक मात्र सरकारी अस्पताल सिभिल सर्भिस अस्पताल (निजामति कर्मचारी अस्पताल) झन्डै ९ करोड रुपैयाँ घाटामा गएको छ । अस्पताल प्रशासनका अनुसार आम्दानीभन्दा खर्च बढी हुँदा अस्पताल घाटामा गएको हो । घाटामा जानुको मुख्य कारण निजामती कर्मचारीलाई दिइएको छुटको सोध भर्ना नपाउनु हो । अस्पताल प्रशासनले दिएको जानकारीअनुसार अस्पताल अहिले झन्डै ९ करोड रुपैयाँ घाटामा छ । अस्पतालका प्रशासकीय अधिकृत रञ्जना नेपालका अनुसार अस्पताल व्यवस्थापनका क्रममा आम्दानीभन्दा खर्च बढी हुँदा अस्पताल घाटामा गएको हो । अस्पतालकी प्रशासकीय अधिकृत नेपालले भनिन्, ‘हामीले निजामती कर्मचारीलाई सहुलियत दिँदै आएका छौं । तर, सरकारले सोबापत हामीलाई बजेट उपलब्ध गराउँदैन ।’

उता, अस्पताल घाटामा रहे पनि कर्मचारीलाई झन्डै ४० लाख रुपैयाँ प्रोत्साहन भत्ता बाँडेको पाइएको छ । प्रोत्साहन भत्ताबारे अस्पतालका प्रशासन प्रमुख नेपालले आधारभूत तलबभन्दा कर्मचारीहरुलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने गरिएको बताइन् । उनले भनिन्, ‘३ सय ३४ जना कर्मचारीलाई कामको मूल्याकंनको आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउँछौं । अस्पतालको सेवाबाट उपलब्ध भएको कुल रकमको १० प्रतिशत रकम प्रोत्साहन भत्ता शीर्षकमा खर्च हुन्छ ।’

सरकारले सो अस्पताललाई पुँजीगत खर्च उपलब्ध गराउँदै आएको छ । तर, चालू खर्च उपलब्ध गराउने प्रावधान नरहेको मन्त्रालयले जनाएको छ । अस्पतालले वार्षिक ५५ देखि ५० करोड रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेको बताइएको छ ।

सो अस्पताल २०६५ सालमा चिनियाँ सहयोगमा स्थापना भएको थियो । १५० शैया रहेको अस्पतालमा ६ सयको उपचार क्षमता रहेको अस्पतालले जानकारी दिएको छ । तर, दैनिक ११ सयको हाराहारीमा बिरामी सेवा लिन आउँछन् ।

सामान्य प्रशासन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले कर्मचारीको सेवा सुविधाका लागि स्थापना भएको सिभिल अस्पताललाई शोध भर्ना दिने व्यवस्था नभएको बताए । उनले भने, ‘यो नितान्त कर्मचारीका लागि स्थापना भएको अस्पताल हो । पँुजीगत अनुदान उपलब्ध गराउँछौं । र, विकास सहायतामा समन्वय गर्ने काम गर्छौं ।’संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको अस्पतालको विकास समिति बोर्डको अध्यक्ष नेपाल सरकारका मुख्यसचिव रहने प्रावधान छ । राजधानी दैनिकमा प्रशान्त वली र केशवप्रसाद पाण्डेले लेखेका छन् ।

प्रकाशित मिति: बिहिबार, असार १९, २०७६ /Thursday, July 4th, 2019, 6:43 am