समाजवादीका सांसद यादव निलम्बित !

काठमाडौ, असार १० । फ्री तिब्बतको कार्यक्रममा सहभागी भएको भन्दै समाजवादी पार्टी नेपालले एकजना सांसदलाई निष्कासन गरेको छ । प्रतिनिधिसभाका सांसद प्रदीप यादव पार्टीबाट ६ महिनाका लागि निलम्बित भएका हुन । पार्टीको नीति विपरीत फ्रि तिब्बतको कार्यक्रममा सहभागी भएपछि विवादित बनेका सांसद यादवलाई समाजवादी पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले ६ महिनाका लागि निलम्बनको निर्णय गरेको हो ।
सांसद यादव पार्टी नीतिविपरीत जानकारी नै नगराइ लाटभियामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टैरियन अन फ्रि तिब्बत’ कार्यक्रममा सहभागी भएको भन्दै समाजवादीले स्पष्टीकरण सोधेको थियो तर उनको स्पष्टीकरण चित्तबुझ्दो नभएकोले निलम्बनको निर्णय गरिएको मंगलबार समाजवादीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बैठकले पार्टीको विभिन्न विभागसमेत गठन गरेको छ । जसअनुसार कार्यालय प्रमुखमा अधिकारी, प्रचार विभागमा सचिव प्रशान्त सिंह, अर्थ विभागमा कोषाध्यक्ष विजयकुमार यादव, विज्ञ परिषद् प्रमुखमा पुष्पराज राजकर्णिकार र केन्द्रीय सल्लाहकार समिति प्रमुखमा भीमप्रसाद गौतम चयन भएका छन् ।

प्रकाशित मिति: मङ्लबार, असार १०, २०७६ /Tuesday, June 25th, 2019, 8:57 pm