यसकारण चर्चित भयो संसदमा देउवाको भाषण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बोल्न नदिएर बल मिच्याइ गरेको आरोप लगाएका छन । बुधबार प्रतिनिधिसभामा बोल्दै उनले विपक्षी पहिला बोल्ने विश्वव्यापी संसदीय अभ्यासविपरीत सरकार अघि बढेको आरोप लगाए ।
उनले भने, ‘हिजो उल्टो भएको छ, प्रजातन्त्रमा विपक्षीले पहिला बोल्ने हो । त्यसमाथि मैले पहिल्यै समय लिइसकेको थिएँ । संसारभरको मान्यता नै संसद विपक्षीको र सरकार सत्ता पक्षको हो, उनले अगाडि भने, ‘विपक्षीको काम नै बोल्ने हो । हामीले बोल्दैमा पूरा गर्नै पर्छ भन्ने थियो र ? हामी बोल्दैमा डराउनुपर्छ ?’
देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हेपेको भन्दै संसदमा विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री जहिले पनि उपस्थित हुनुपर्ने भएपनि संसदमा उपस्थित नभएर प्रधानमन्त्रीले हेप्ने काम गरेको आरोप लगाए ।
उनले २०४८ सालदेखि सांसद भएका ओलीले सामान्य संसदीय मान्यतासमेत बिर्सिएको टिप्पणी गरे । मंगलबार संसदमा प्रधानमन्त्री ओली पहिला बोल्ने कि विपक्षी दलका नेता देउवा भन्ने विषयमा विवाद हुँदा कांग्रेसले संसद बैठक नै अवरोध गरेको थियो ।
संसदमा बोल्न नपाएपछि मंगलबार बेलुका सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै ओलीले संसदीय अभ्यासमा जानकार देउवा आफैँ वेल घेर्न आएर असंसदीय क्रियाकलाप गरेको आरोप लगाएका थिए । त्यसको जवाफ दिँदै देउवाले आफूलाई ओलीले हेपेको प्रतिक्रिया दिएका हुन ।
देउवाले सरकारले पछिल्लो समय ल्याएको विधेयकले लोकतन्त्रका मूल्य मान्यतामाथि आक्रमण गरेकाले कुनै पनि हालतमा पारित गर्न नदिने चेतावनी दिए । उनले मिडिया काउन्सिल, सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी र राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी विधेयकलाई कांग्रेसले कुनै पनि मूल्य चुकाएर पास हुन नदिने घोषणा गरे । ‘सरकारले प्रजातान्त्रको खिलापमा १०१ विधेयक ल्याएको छ । यसलाई कुनै पनि हालतमा हामी पारित गर्न दिँदैनौं । हिजोभन्दा बढी सशक्त भएर आउने छौं, देउवाले भने ।
सरकारले मिडियालाई धम्क्याउने, तर्साउने काम गरेको छ । मिडिया काउन्सिले विधेयक कुनै पनि हालमा पारित गर्न दिँदैनौँ । यो प्रजातन्त्रमाथिको आक्रमण हो । जुन देशमा स्वतन्त्र प्रेस हुँदैन त्यहाँ लोकतन्त्र टिक्दैन । प्रेसले लेख्दैमा डराउनु पर्दैन’, देउवाले संसदमा भने ।

त्यस्तै सूचना प्रविधि विधेयकले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्डित देउवाको भनाइ थियो । मानव अधिकार आयोगलाई महान्यायाधिवक्ता कार्यालयमाथि राख्न खोजेर अर्को विश्वव्यापी मूल्य र मान्यतामाथि अक्रमण गरिएको विपक्षी दलका नेला देउवाको भनाइ थियो ।

प्रकाशित मिति: बुधबार, असार ४, २०७६ /Wednesday, June 19th, 2019, 3:05 pm