१५ कम्पनीलाई हकप्रद सेयर निष्कासन अनुमति, १० कम्पनी अनुमतीको पर्खाइमा

काठमाडौं, असार १ । नेपाल धितोपत्र बोर्डले १५ वटा कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको छ । १० वटा कम्पनी अनुमतिको पर्खाइमा रहेका छन् । बोर्डले पछिल्लो एक वर्षको अवधिमा १५ वटा कम्पनीको ४ अर्ब ३२ करोड ६८ लाख ५० हजार ८७३ रुपैयाँ बराबरको ४ करोड ३२ लाख ६८ हजार ५०८ दशमलव ७३ कित्ता सेयर निष्कासनको अनुमति प्रदान गरेको हो ।

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले हकप्रदले बजारमा आपूर्ति बढाएर परिसूचक घट्ने हँुदा हकप्रद सेयर निष्कासनमा कडाइ गरिनुपर्ने बताए । उनले भने, ‘विकसित देशमा हकप्रद सेयर जारी गर्ने कम्पनीलाई राम्रो कम्पनी मानिँदैन तर हामी कहाँ नियमनकारी निकायले पुँजी वृद्धि गर्नुपर्ने नीति ल्याउँछ र कम्पनीहरू पनि पुँजी वृद्धिको माध्यम बोनस र हकप्रद नै रोज्ने गर्छन् यसको साटो बरु नियमनकारी निकायले फोर्स मर्जरको बाटोमा ल्याउनुपर्ने देखिन्छ ।

हकप्रद सेयरले बजार र लगानीकर्ता दुवैलाई नकारात्मक प्रभाव पार्ने हुँदा यसमा अंकुस लगाउन नियमक निकायले गहन छलफल गर्नुपर्ने रौनियारले बताए । हकप्रद निष्कासनको अनुमति पाएका मध्ये एभरेस्ट इन्स्योरेन्सको सेयर जारी रहेको छ भने तीन वटा कम्पनीको हकप्रद सेयर चाँडै आउने देखिन्छ । त्यस्ता कम्पनीमा मल्टिपर्पोज फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र सूर्यलाइफ इन्स्योरेन्स कम्पनीका सेयर निष्कासनको क्रममा रहेका छन् ।

अर्का लगानीकर्ता कमल पन्थीले धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासनको अनुमति दिँदा कम्पनीको वित्तीय अवस्था, लाभांस दिनसक्ने नसक्ने स्थितिलाई पनि मध्यनजर गरेर अनुमति दिनु पर्ने बताए । उनले भने, ‘बोर्डले कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिँदा निश्चित समयसम्ममा जारी गर्न पाउने नपाउने भन्ने खालको नीति ल्याउनुपर्ने देखिन्छ ।’ बलियो वित्तीय अवस्था भएका कम्पनीहरूलाई हकप्रदको अनुमति दिनु राम्रो कुरा हो तर हाम्रो यहाँ कमजोर वित्तीय अवस्था भएका, ग्रेड ४ सम्म पाएका कम्पनीले पनि २–३ सय प्रतिशत हकप्रद सेयर जारी गरेको देखिएको पनि उनले बताए ।

बोर्डमा १० वटा कम्पनी हकप्रद सेयर निष्कासनको अनुमतिको पर्खाइमा रहेका छन् । यी कम्पनीले ५ अर्ब २६ करोड ३७ लाख ८८ हजार ९४६ रुपैयाँ बराबरका ५ करोड २६ लाख ३७ हजार ८८९ दशमलव ४६ कित्ता निष्कासनका लागि आवेदन दिएका छन् । आवेदन दिनेमा श्रीराम सुगर मिल्स, न्यांग्दी गु्रप पावर, ग्लोबल आईएमई लद्युवित्त वित्तीय संस्था, मुक्तिनाथ विकास बैंक, सिर्जना फाइनान्स, समता लद्युवित्त वित्तीय संस्था, बमी लद्युवित्त वित्तीय संस्था, बरुण हाइड्रोपावर कम्पनी, अपी पावर कम्पनी र युनाइटेड इन्सुरेन्स कम्पनीको आवेदन परेको छ ।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार कम्पनीले वार्षिक साधारण सभाबाट हकप्रद सेयर जारी गर्न एजेन्डा लगानीकर्ताबाटै पास गरेर धितोपत्र बोर्डमा आवेदन दिएका हुन्छन् । त्यसमा बोर्डल रोक्न सक्दैन । नेपालको पुँजी बजारमा बैंक वित्तीय संस्था र इन्सुरेन्स कम्पनीहरूको बाहुल्यता रहेको छ । यसका नियमक निकायले पुँजी वृद्धि गर्ने नीति लिएका छन् । यस्तो, अवस्थाका कम्पनीले चुक्ता पुँजी पु¥याउन बोनस सेयर र हकप्रद नै जारी गर्ने गर्छन् । यसमा अंकुस लगाउन नमिल्ने गिरीले बताए । उनले भने, ‘हामीले आपूर्ति बढी भयो भनेर सेयर निष्कासनमा रोक लगाउने भन्दा पनि माग सिर्जना गराउने कार्य गर्न सक्छौ त्यसका लागि हामीले छिटै एनआरएनलाई पुँजीबजारमा ल्याउने तयारी गरिरहेका छौ ।’ राजधानी दैनिकमा पूजा चँदाराले लेखेका छन् ।

प्रकाशित मिति: आइतवार, असार १, २०७६ /Sunday, June 16th, 2019, 10:02 am