कांग्रेसले दोस्रो चरणअघि सबै संरचना बनाउने

काठमाडौं, जेठ ३१ । नेपाली कांग्रेसले भदौ २४ गतेदेखि शुरु हुने जागरण अभियानको दोस्रो चरण प्रवेशपूर्व नै संविधान र पार्टीको संशोधित विधानबमोजिमको सम्पूर्ण संरचना बनाउने भएको छ ।

उक्त अभियानबारे जानकारी दिन बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकाश शर्माले उक्त जानकारी दिनुभएको हो ।

कांग्रेसको संघीय संरचनाअनुसार संशोधित विधानमा तल्लो तहमा पनि कार्यसम्पादन समितिलगायत अन्य समिति बनाउनुपर्नेछ । उक्त अभियानका क्रममा कार्यकर्ताले तल्लो तहको अधिवेशन छिटो गर्नुपर्ने सुझाव दिएका थिए । काँग्रेसले विधानअनुसार केन्द्रीय विभागहरु पनि गठन गरेको छैन ।

पहिलो चरणअन्तर्गत ‘एकमहिने हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सम्पन्न गरेको कांग्रेसले उक्त चरणमा आम कार्यकर्ताले विधानअनुसार पार्टी संरचना नबनाइएकाले नेतृत्वको चर्को आलोचना गरेका थिए ।

कांग्रेसको विधानमा टोल, गाउँ÷नगर वडा, गाउँपालिका÷नगरपालिका÷उपमहानगरपालिका र महानगरपालिका, प्रदेश क्षेत्रीय, प्रतिनिधिसभा क्षेत्रीय र प्रदेश कार्यसमिति हुनुपर्ने उल्लेख छ । नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईँले लेखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३१, २०७६ /Friday, June 14th, 2019, 6:52 am