बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं, जेठ ३० । सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढाउने निर्णय गरेको हो । बिहिबार यातायात व्यवस्था कार्यालयमा बसेको सर्वपक्षीय बैठकले भाडा बढाउने निर्णय गरेको हो ।

बढाइएको भाडा असार १ गतेदेखि लागू हुने यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।

भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिका, यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी, सुरक्षा निकायकसँग छलफल गरेको थियो।

छोटो दूरीको भाडा न्यूनतम १७ रुपैयाँ र ट्याक्सीमा न्यूनतम ५० रुपैयाँ कायम भएको छ। २५ किलोमिटरसम्मको दूरीलाई स्थानीय सडक (छोटोदूरी) मानिन्छ। भाडा वृद्धि हुनुअघि छोटो दूरीमा न्यूनतम भाडादर १४ रुपैयाँ थियो। अहिले त्यसमा ३ रुपैयाँ थप गरिएको छ।

ट्याक्सीमा फ्ल्याक डाउन प्रणाली लागू गरिने भएको छ। यो चढ्ने बित्तिकै न्यूनतम भाडा उठ्ने प्रणाली हो। यो नियम लागू भएसँगै यात्रुले ५० रुपैयाँमा एक किलोमिटरसम्म यात्रा गर्न पाउनेछन्। फ्ल्याक डाउन प्रणालीअनुसार भाडा समायोजना गरिएको विभागले जानकारी दिएको थियो।

ट्याक्सी चढने बित्तिकै मिटर अन गर्दा ५० रुपैयाँ देखाउनेछ। यसअघि ट्याक्सी चढन साथ १४ रुपैयाँ उठ्थ्यो। प्रति दुई सय मिटर ७ रुपैयाँ ८० पैसाको दरले भाडा बढ्दै जान्थ्यो। नयाँ समायोजन गरिएको मूल्यअनुसार यात्रुले प्रति दुई सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जानेछ। अहिले प्रति दुई सय मिटर एक रुपैयाँ बढेको हो। अब पहिलो एक किलोमिटर बाहेक प्रतिकिलोमिटर ट्याक्सी यात्रामा ५ रुपैयाँ थप तिर्नुपर्ने हुन्छ। यसअघि प्रतिकिलोमिटर ३९ रुपैयाँ थियो।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३०, २०७६ /Thursday, June 13th, 2019, 8:41 pm