ग्रामीण विकास लघुवित्तको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, जेठ ३० । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २६ देखि निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । लघुवित्त कम्पनीले एक शेयर बराबर शून्य दशमलव ५ शेयर अनुपातमा ३२ लाख ७५ हजार कित्ता शेयर जारी गरेको छ । यस हकप्रद प्रयोजनका लागि कम्पनीले चैत २९ गते बुक क्लोज गरेकाले चैत २८ गतेसम्म कायम सदस्यहरुले मात्र आवेदन गर्न पाउनेछन् ।

गरीबी निवारणमा सहयोग पुर्‍याउने उद्देश्यले साविकमा क्षेत्रिय स्तरमा स्थापना भएका पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल ग्रामीण विकास बैंकहरु एक आपसमा गाभिएर ग्रामीण विकास लघुवित्तको रूपमा स्थापित भएका हुन् । यस कम्पनीले २०७१ साल साउन २० गतेदेखि एकिकृत वित्तीय कारोबार गर्दै आएको छ । अधिकृत पूँजी रू। १ अर्ब रहेको यस कम्पनीको जारी पूँजी रू। ९८ करोड २५ लाख रहेकोमा हालसम्म रू। ६५ करोड ५० लाख चुक्ता भईसकेको छ । यस हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू। ९८ करोड २५ लाख पुग्नेछ ।

यस हकप्रद विक्री प्रबन्धकको जिम्मेवारी एनआईबिएल एस क्यापिटल लिमिटेडले लिएको छ । आवेदनका लागि सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण कार्यालय र मेरो शेयर एप मार्फत पनि आवेदन गर्न सकिनेछ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३०, २०७६ /Thursday, June 13th, 2019, 9:56 am