लगनखेलबाट आईएमई मनिटान्सफर फुटाएर पैसा चोर्न खोज्ने ४ पक्राउ

ललितपुर, जेठ २८ । प्रहरीले आईएमई मनिटान्सफरको ताला फोडेर पैसा चोर्न खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको लगनखेलमा अवस्थित आईएमई मनिटान्फरको ताला फुटाउँदै गरेको अवस्थामा महानगरिय प्रहरी प्रभाग लगनखेलको टोलीले आज राती २ः३० बजे पक्राउ गरेको महानगरिय प्रहरी परिसर जाउलाखेलका प्रवक्ता डिएसपी नारायण चिमौरियाले बताए ।

पक्राउ पर्नेमा उदयपुर गाईघाट घर भएका वर्ष २८ को समशेर माझी, दोलखाका वर्ष २६ को सुरेश तामाङ, काभ्रेका वर्ष २५ को रविन्द्र श्रेष्ठ र रामेछापका वर्ष २५ को रुपेश भन्ने रुद्रलाल श्रेष्ठ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ढोका ताल्चा फोर्न प्रयोग गरिएको २ वटा औजार, ३ वटा मोटरसाइकल र ५२ हजार नगदसमेत बरामद गरिएको डिएसपी चिमौरियाको भनाइ रहेको छ ।

पक्राउ परेकाहरु पटके चोर भएको र यस अघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २८, २०७६ /Tuesday, June 11th, 2019, 4:55 pm