वेबसाइट र टीएमएसमा डाटा फरक पर्नु प्राविधिक समस्या होइन : नेप्से

काठमाडौं, जेठ २८। नेपाल स्टकको वेबसाइट र लगानीकर्ताले प्रयोग गर्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा एउटै डाटा नआएको भन्दै लगानीकर्ताले गुनासो गरेपछि नेप्सेले उक्त कुरा प्राबिधिक समस्या नै नभएको जनाएको छ ।

ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा रियल टाइममा डाटा उपलब्ध हुने र नेप्सेको वेबसाइटमा भने १ मिनेटको अन्तरालमा मात्र डाटा दिने भएकोले डाटा फरक जस्तो देखिन गएको जनाएको छ । नेप्सेले यसलाई प्राविधिक समस्याको रुपमा नबुझिदिन पनि आग्रह गरेको छ ।

नेप्सेले भनेको छ, ‘समय अन्तरालका कारण प्रयोगकर्ताको टीएमएसमा देखिने कारोबारको विवरण र वेबसाइटमा देखिने विवरण फरक हुन्छ ।’

पछिल्लो समय नेप्से वेबसाइट नचल्ने, डाटा फरकफरक देखिने गरेपछि लगानीकर्ताले यसको चर्को विरोध गरेका थिए । लगानीकर्ताको गुनासो र चर्को आक्रोशपछि नेप्सेले आफ्नो वेबसाइट र टीएमएसमा डाटा फरक देखिनु समस्या नभएको बताएको हो ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २८, २०७६ /Tuesday, June 11th, 2019, 2:13 pm