रौतहटमा सडक दुर्घटना हुँदा २ भारतीयको मृत्यु, २१ जना घाइते

रौतहट, जेठ २८ । रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा रौतहटमा २ जना भारतीय तीर्थयात्रीको ज्यान गएको छ । लुम्बिनीबाट तीर्थयात्री बोकेर गएको बस पौराई बागमतीमा रोकिराखेको समयमा ट्रकले ठक्कर दिँदा २ को ज्यान गएको हो । ज्यान गुमाउनेमा भारतको ओडिसाका ५४ वर्षीय चरण विश्वाल र ५२ वर्षीय विजयकुमार जेना रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

ना ६ ख ९०३० नम्बरको बसलाई सोमबार मध्यरातमा सोही दिशाबाट आउँदै गरेको को १ ख २६२५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा अन्य २१ जना घाइते भएका छन् । घाइते २१ मध्ये १२ जना सामान्य उपचारपछि फर्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार घटनामा गम्भीर घाइते भएका ३ जनाको वीरगञ्जको न्यूरो अस्पतालमा र अन्य ६ जनाको रौतहटको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २८, २०७६ /Tuesday, June 11th, 2019, 11:07 am