साढे ८४ लाख कित्ता आईपीओ आउँदै

काठमाडौं, जेठ २३ । हिमालयन हाइड्रोपावर लिमिटेड र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ८४ करोड ५० लाख रुपैयाँ बराबरको ८४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन हुने भएको छ । हिमालयन हाइड्रो पावरको सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ जारी हुन लागेको हो । आईपीओ ल्याउन हिमालयनले जनता क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।

हिमालयनको कुल निष्कासित हुने सेयरमध्ये ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । यस कम्पनीले आगामी दसैंसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको पनि सय रुपैयाँ अंकित मूल्यमा ६२ करोड रुपैयाँबराबरको ६२ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

हिमालको आईपीओ निष्कासनको काम ग्लोबल आईएमई क्यापिटलले गर्ने भएको छ । हिमालको गत १४ जेठबाट स्थानीय बासिन्दाका लागि १६ लाख कित्ता आईपीओ जारी गरिएको थियो । यसमा स्थानीय बासिन्दाले यही २८ जेठसम्म आवेदन दिन सकिने व्यवस्था छ । स्थानीयका लागि जारी भएको आईपीओ बन्द भएपछि पुनः सर्वसाधारणका लागि जारी हुने भएको छ । हिमाल दोलखाले इलामको माई नगरपालिकामा ७२ करोड ५० लाख रुपैयाँ लागतमा ४ दशमलव ५५ मेगावाटको माई खोला र १ अर्ब ४२ करोड लागतमा ८ मेगावाटको माई सानो गरी दुईवटा आयोजना सञ्चालित छन् । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २३, २०७६ /Thursday, June 6th, 2019, 8:32 am