सरकारी अस्पतालमा आईसीयू सेवा पाउनै मुस्किल

काठमाडौँ, जेठ २३ । केही दिन अघि धादिङको गजुरीमा भएको बस दुर्घटनामा घाइते भएका २२ जनालाई महाबौद्धस्थित ट्रमा सेन्टरमा उपचारका लागि ल्याइयो । तीनजनालाई तत्काल सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्नुपर्ने भयो । तर अस्पतालले एकजनालाई आईसीयूमा राखेर बाँकी दुईजनालाई आईसीयू खाली नभएको भन्दै अन्यत्र अस्पताल पठायो । दुईसय शैया रहेको ट्रमा सेन्टरमा कम्तीमा पनि आईसीयूको ५० शैया आवश्यक पर्छ ।

यसैगरी सिन्धुपाल्चोकका उमेश गिरीलाई काठमाडौँको वीर अस्पतालमा ल्याइयो तर आईसीयू खाली नभएको भन्दै उहाँलाई गेटबाटै निजी अस्पताल जानु भनेर फर्काइयो । छातीको सङ्क्रमण भएर गिरीलाई वीर अस्पताल ल्याइएको थियो ।

कपनका ओमकुमारी शर्मालाई केही दिन अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि ल्याएपछि आईसीयूमा राख्नुपर्ने भयो । शिक्षण अस्पतालमा पनि आईसीयू खाली नभएकोले त्यहाँबाट फर्काइयो ।

यी केही संवेदनशील उदाहरण मात्र हुन् । आईसीयूमा राखेर उपचार गर्नुपर्ने कैयौं बिरामीले सरकारी अस्पतालमा आईसीयू पाउनै कठिन छ ।

ट्रमा सेन्टरमा हाल १० वटा आईसीयूमध्ये पाँचवटा मात्र सञ्चालनमा छ । सेन्टरमा छवटा आईसीयू अवश्यक उपकरण बिग्रिएर बसेका छन् । ट्रमा सेन्टरका निर्देशक डा। प्रमोदकुमार यादवले छवटा आईसीयू व्यवस्थित नभएकोले सेवा दिन नसकिएको बताउनुभयो । गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन् ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २३, २०७६ /Thursday, June 6th, 2019, 6:31 am