मेडिकल कलेजको ठगी धन्दा

काठमाडौं, जेठ २२ । चर्को शुल्क लिएर ठगी धन्दा चलाइरहेका निजी मेडिकल कलेजका सञ्चालकहरूले उल्टै शुल्क वृद्धिको माग गरेका छन् । अतिरिक्त शुल्क लिएर विवादमा आएका मेडिकल कलेजहरूले शुल्क फिर्ता नगर्दै वृद्धिको माग अघि सारेका हुन् ।

सरकारले एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क निर्धारण गरेको थियो । तर, सबै मेडिकल कलेजहरूले शुल्क फिर्ताको ताकेतालाई अटेर गर्दै आएका छन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा उनीहरूले वैज्ञानिक शुल्क नहुँदा चल्नै गाह्रो भएको धारणा राखेका छन् । पोखरास्थित गण्डकी मेडिकल कलेज, काठमाडौंस्थित किस्ट मेडिकल कलेज, भैरहवास्थित युनिभर्सल मेडिकल कलेज, वीरगन्जस्थित नेसनल मेडिकल कलेजलगायतले विद्यार्थीबाट चर्को शुल्क लिएको विषय बाहिर आएपछि समितिले कलेजका पदाधिकारीहरूलाई छलफलका लागि बोलाएको थियो । बैठकमा सांसद शिक्षा तथा स्वास्थ्य समिति सदस्य खगराज अधिकारीले चल्दै आएका मेडिकल कलेजहरूले गुणस्तरीय शिक्षा नदिएको बताए । उनले ती मेडिकल कलेजहरूसँग कुनै पनि ‘स्किल ल्याब’ नभएको बताए । ‘थेउरिटिकल क्लास त राम्रै होलान् । तर, तपार्इंहरूसँग स्किल ल्याब नै छैन । यसरी ख्यालठट्टा गर्न मिल्छ ।’ उनले अभिभावकसँग अवैध शुल्क असुल्नुभन्दा सरकारसँग के आवश्यक पर्छ, माग गर्नसमेत आग्रह गरे ।

‘अवैध शुल्क लिनुभएको छ । बिरामी किर्ते बनाउनुहुन्छ । त्यसै माफिया भनिएको होइन होला । कम्तीमा गुणस्तरीयतामा सम्झौता नगरी आफ्नो ड्युटी त पूरा गर्नुस्,’ सांसद अधिकारीले भने । सांसदहरूले मेडिकल कलेजहरूको अनुगमनमा जाँदा नक्कली शिक्षक र विद्यार्थी बनाएको बताए ।

सांसदहरूले अवैध शुल्क लिँदा अभिभावक मारमा परेको भन्दै तत्काल शुल्क फिर्ता गर्न पनि माग गरेका छन् । उपसमिति संयोजक सुरेशकुमार राईले कलेज सञ्चालक इमानदार र मितव्ययी हुनुपर्ने बताए । उनले भने, ‘अझै मेडिकल कलेजले तोकिएभन्दा अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् । कलेज सञ्चालकहरूले त्रिभुवन विश्वविद्यालयको निर्देशनअनुसार बढाएको जवाफ दिएका छन् । हामीले आवश्यक कागजातहरू माग गरेका छौं ।’

किस्ट मेडिकल कलेजका सञ्चालक राजेन्द्र शाक्यले हाल कायम रहेको शुल्कले कलेज सञ्चालन हुनैै मुस्किल परेको भन्दै वैज्ञानिक शुल्क निर्धारण हुनुपर्ने बताए । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २२, २०७६ /Wednesday, June 5th, 2019, 8:24 am