पटवाल राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त

काठमाडौं, जेठ १७ । भारतीय क्रिकेट प्रशिक्षक उमेश पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक बन्ने भएका छन् । उनी ७ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेगरी पटवाल प्रशिक्षकमा नियुक्त भएका हुन्। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पटवाललाई १ बर्षको लागि मुख्य प्रशिक्षक जिम्मेवारी दिने भएको छ ।

पटवालले जुन १० तारिखदेखि आफ्नो जिम्मेबारी समाल्ने छन्। नेपाल क्रिकेट संघ (क्यान) तीन वर्षभन्दा लामो समयदेखि आईसीसीको निलम्बनमा रहँदै आएको छ। यसअघि जगत टमाटा नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक थिए।

सदस्यसचिव केशब कुमार बिष्टले पटवाललाई मासिक ७ हजार डलर दिनेगरि अनुबन्ध गर्न लागेको जानकारी गराए । पटवालको तलब भत्ता लगायतको सम्पूर्ण खर्च आईसीसीले व्यहोर्ने समेत सदस्यसचिब बिष्टले जानकारी गराए ।

पटवालले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक भएर काम गरेका थिए । यस्तै पटवालले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको प्रतियोगिता निर्देशक भएर काम गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १७, २०७६ /Friday, May 31st, 2019, 2:17 pm