राष्ट्रपतिद्वार राहदानी विधेयक फिर्ता, सरकार दबाबमा

काठमाडौ, जेठ ८ ।
गणतन्त्र स्थापनापछि रष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि आएको राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता पठाइदिएकी छिन ।

संसदका दुवै सदनले पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्ने भए पनि प्रतिनिधिसभाले मात्र स्वीकृत गरेर पठाएको विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ (३) अनुसार पुनविचार गर्न भन्दै फिर्ता पठाएकी हुन्।

झण्डै दुई तिहाइ बहुमतसहितको सरकारले पेश गरेर आफैंले प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रपतिबाट फिर्ता हुँदा सत्तारुढ नेकपामाथि नैतिक प्रश्न उठेको छ ।

प्रतिनिधिसभाले पारित गरेको दुई महिनाभित्र राष्ट्रियसभाले जस्ताको त्यस्तै वा सुझावसहित पठाउनुपर्ने संवैधानिक व्यवस्था भए पनि राष्ट्रियसभाले कुनै निर्णय नगरेपछि सभामुख कृष्णबहादुर महराले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।

गएको साउन २३ गते प्रतिनिधिसभा सचिवालयमा सरकारले दर्ता भएको विधेयक प्रतिनिधिसभाले केही संशोधनसहित असोज १० गते पारित गरेको थियो ।

विधेयक राष्ट्रपति कार्यालय पुगेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही प्रावधानप्रति असहमति जनाउँदै फिर्ता हुनुपर्ने लविङ गरेपछि राष्ट्रपति भण्डारीले फिर्ता गरेकी हुन् । कांग्रेसले राष्ट्रपतिबाट फिर्ता हुनुपर्ने लविङ गरेपछि भण्डारीले सरकार, कानुनविद् तथा सांसदहरुसँग परामर्श गरेकी थिइन् ।

सोमबार राष्ट्रपति भण्डारीले राष्ट्रियसभाका सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रोधश्याम अधिकारी र रामनारायण बिडारीसँग परामर्श गरेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ८, २०७६ /Wednesday, May 22nd, 2019, 9:57 pm