समाजवादी पार्टीका २० जनाले छोडे बाबुराम-उपेन्द्रलाई

वीरेन्द्रनगर, जेठ ८ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकता भएर बनेको समाजवादी पार्टी नेपालका सुर्खेत जिल्ला संयोजक प्रचण्डकुमार पोखरेलसहित २० जनाले समाजवादी पार्टी परित्याग गरेका छन । दुई पार्टीबिचको एकताप्रति असन्तुष्टि जनाउँदै जिल्ला संयोजक पोखरेलसहित २० जनाले समाजवादी पार्टीका उपाध्यक्षद्वय परशुराम खापुङ र हिसिला यमीलाई भेटेर बुधबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।
लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चने, वाचा गरेका जिम्मेवारी पूरा नगर्ने र शक्ति आर्जनका लागि आफूहरूलाई अनावश्यक प्रयोग गर्न खोजेकाले पार्टी परित्याग गर्नु परेको पोखरेलको भनाइ छ ।
विज्ञप्तिमा समाजवादी पार्टी गैरलोकतान्त्रिक, गैरजिम्मेवार र नोकरशाही चरित्रको भएकाले पार्टी परित्याग गरिएको उल्लेख छ ।
पार्टी परित्याग गर्नेहरुमा नयाँ शक्तिका सुर्खेत जिल्ला संयोजक पोखरेलसहित नयाँ शक्ति विद्यार्थी युनियनका कर्णाली प्रदेश संयोजक रविकिरण हमाल, विज्ञ परिषद्का कर्णाली संयोजक सुरथकुमार पोखरेल, युवा शक्तिका कर्णाली प्रदेश संयोजक भक्ति आचार्य र केन्द्रीय सदस्य टेकप्रसाद भट्टराई लगायत छन् ।
हेर्नुस नामावली

प्रकाशित मिति: बुधबार, जेष्ठ ८, २०७६ /Wednesday, May 22nd, 2019, 9:25 pm