नवलपुरमा हावाहुरीले उठायो ३ सय घर !

नवलपरासी, जेठ ८ । पूर्वीनवलपरासीमा मंगलबारराति असिना पानीसहित आएको हावाहुरीले करिब ३ यस घरहरुमा क्षति पुर्‍याएको छ । हावाहुरीले भने मानवीय क्षति गरेको छैन ।

हावाहुरीको बढी असर देवचुली नगरपालिकामा परेको छ । कतिपय घर बस्नै नमिल्ने गरी भत्किएका छन् । दर्जनौं घरमा क्षति पुगे पनि हुरीले पुर्याएको क्षतिको यकिन तथ्यांक आइनसकेको प्रहरीले जनाएको छ ।

हुरीले ठाउँठाउँमा बिजुलीको पोल, रुख ढालिदिएको छ । यसले विद्यत् तथा सवारी आवागमन प्रभावित भएको छ । देवचुली आधारभूत विद्यालय र भीमसेन माविलगायत केही विद्यालयको छानो पनि हावाले उडाइदिएको छ ।

हुरीको असर देवचुली नगरपालिकाको ६, ७, ८, ९, ११, १२ र १४ वडामा परेको छ । तर, यीमध्ये सबैभन्दा बढी असर वडा नं. ७ मा देखिएको छ ।

हुरीसँगै आएको असिना पानीले किसानका तरकारीलगायतका बालीमा पनि नोक्सानी पुगेको छ । हावाहुरीले यति धेरै घरमा एकै पटक क्षति पुर्याएको यो पहिलो पटक हो । हुरी पीडितको अवस्था बुझ्न मेयर सहितका जनप्रतिनिधि प्रभावित क्षेत्रमा खटिएका छन् ।

२ मिनेट मात्र आएको हावाहुरीले व्यापक क्षति पुगेको छ । सीतावास र मुण्डे क्षेत्र बढी प्रभावित छ । सीतावास क्षेत्रमा बाटाभरी बिजुलीको पोल ढलेर बाटो अवरुद्ध रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष खीमानन्द भुसालले जानकारी दिए । प्रभावित क्षेत्रमा प्रहरी, रेडक्रसकर्मी र स्थानीय उद्दारमा खटेका छन् ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ८, २०७६ /Wednesday, May 22nd, 2019, 2:21 pm