कांग्रेस नेताप्रति कार्यकर्ताको आक्रोशः गुट चलाऊ तर जागरणमा नआऊ

काठमाडौ, जेठ ७ । देशव्यापी जागरण अभियानमा लागेका केन्द्रीय नेताहरुलाई स्थानीय नेताहरुले पहिला आफू गुटबन्दीमा नलाग्ने कुरामा जागृत हुनुहोस्, अनि मात्र हामीलाई जागृत गराउन आउनुस् भनेका छन् ।

जागरण अभियानबारे प्रतिक्रिया सुनाउँदै नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले भन्नुभयो– ‘सहभागी कार्यकर्ताहरु हामीलाई हैन पहिला नेतालाई जागृत गराउनुस् ।’ जागरण अभियानबारे अन्य जिल्ला सभापतिहरुको पनि त्यस्तै अनुभव छ । कार्यकर्ताले नेतालाई गुटबन्दीमा लागेका कारण पार्टी प्रमुख प्रतिपक्षमा पुगेको छ, पहिला नेतामा परिवर्तन आवश्यक छ भन्दै आक्रोश पोख्ने गरेका छन् ।

काभ्रेमा सञ्चालित जागरण अभियानमा सहभागी क्षेत्रीय सभापति रमेश हुमागाईंका अनुसार यहाँका आम कार्यकर्ताले आफूहरु जागृत भएको तर नेताहरु नै जागृत नभएको बताउनुभयो । हुमागाई भन्नुहुन्छ– ‘कार्यकर्ता एकजुट छन्, नेताहरु भने गुटउपगुटमा विभाजित भएका छन् ।’ नेताहरु पहिले एकजुट भएर आउनुपर्ने कार्यकर्ताको भनाई रहेको उहाँ बताउनुहुन्छ ।

‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत पहिलो चरणको एकमहिने कार्यक्रम जेठ २५ गते सकिँदै छ । तीन चरणमा गर्न लागिएको यो अभियानअन्तर्गत दोस्रो चरण भदौ २४ बाट असोज ७ गतेसम्म १५ दिन र तेस्रो चरणको अभियान भने पुस ७ बाट पुस १६ सम्म १० दिन सञ्चालन गर्ने तयारी छ ।

पहिलो चरणको जागरण अभियान जिल्ला केन्द्रित हुनेछ भने दोस्रो चरणमा प्रदेशको ३ सय ३० निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछ । तेस्रो चरणको जागरण अभियान भने ७ सय ५३ गाउँ नगर केन्द्रित हुने कांग्रेसले जनाएको छ ।

७७ वटै जिल्लामा एकसाथ शुरु भएको जागरण अभियानबाट पार्टीको आन्तरिक संगठन सुधार गर्नुका साथै सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्ने बताइएको छ । साथै, संघीय संरचनाअनुसार तयार पारेको पार्टीको नयाँ विधान र नीतिका बारेमा आम कार्यकर्तालाई जागृत गराउने पनि यो अभियानको उद्देश्य छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ७, २०७६ /Tuesday, May 21st, 2019, 6:51 am