मन्तव्य राख्दै गर्दा एक शिक्षकको मृत्यु

पाँचथर, जेठ ६ । पाँचथरमा मन्तव्य राख्ने क्रममा एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको फिदिम नगरपालिका–१४, स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको मन्तव्य राख्ने क्रममा मृत्यु भएको हो ।

सोमबार विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाई तथा नवनियुक्त शिक्षक फागोकै स्वागतका लागि आयोजित कार्यक्रममा मन्तव्य राख्ने क्रममा उनको निधन भएको स्थानीय राम बाँस्कोटाले जानकारी दिए । स्थानीयकाअनुसार शिक्षक फागो कार्यक्रममा मन्तव्य राख्नेबित्तिकै बेहोस भएर ढलेका थिए ।

अचानक बेहोस भएर ढल्न पुगेका फिदिम–११, मूलडाँडा स्थायी घर भएका ३५ वर्षीय शिक्षक फागोको केहीबेरमै मृत्यु भएको बताइएको छ । उहाँको शवलाई पोस्टमर्टमका लागि सरदरमुकाम फिदिमतर्फ ल्याइँदै गरेको फिदिम–८, तमाखेस्थित प्रहरी चौकीले जनाएको छ । शिक्षक फागोलाई केही दिनअघि मात्र करारमा नियुक्त गरिएको थियो ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ६, २०७६ /Monday, May 20th, 2019, 8:46 pm