तात्यो काङ्ग्रेस, पाँच लाखलाई प्रशिक्षण दिने

ललितपुर, जेठ ३ ।
नेपाली कांग्रेसले आफ्ना क्रियाशिल झण्डै पाँच लाख
नेता तथा कार्यकर्ताका लागि देशव्यापी प्रशिक्षण दिने भएको छ ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले विभिन्न चरणमा देशैभर क्रियाशील सदस्य एवं महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण दिने निर्णय गरेको हो । तीन चरणमा देशव्यापी जागरण अभियान घोषणा गरेको कांग्रेसले फेरि प्रशिक्षण अभियान चलाउने भएको हो ।
नेपाली कांग्रेसमा वैचारिक क्षमता ह्रास भइरहेको गुनासो आइरहेको सन्दर्भमा देशैभर प्रशिक्षण गर्न लागिएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए ।
दाहालका अनुसार महाधिवेशन प्रतिनिधिहरुका लागि सातै प्रदेशको दुई/दुई स्थानमा प्रशिक्षण दिइनेछ । त्यस्तै कांग्रेसका क्रियाशील सदस्यहरुका लागि एक दिने आधारभूत प्रशिक्षण, केन्द्रीय स्तरमा र ठूला शहरमा पनि क्रमशः ‘नेपाली कांग्रेस मेला’ कार्यक्रमको आयोजना गर्ने निर्णय प्रतिष्ठानले गरेको छ । प्रशिक्षण सुरु हुने मिति भने अहिले तय नगरिएको दाहालले जानकारी दिए ।

कांग्रेसको पहिलो चरणको जागरण अभियान जेठ २५ गतेसम्म चल्ने भएकाले त्यसपछि मात्र जिल्लाहरुको परामर्शमा प्रशिक्षण कार्यक्रमको मिति तय गर्ने जनाएको छ । प्रशिक्षण कार्यक्रम दोस्रो चरणको जागरण अभियान सुरु हुने भदौ २४ अघि नै सकिने दाहालले बताए । यसैबीच कांग्रेसले दसौं गणतन्त्र दिवस पनि विविध कार्यक्रम गरेर मनाउने भएको छ । जेठ १५ गते गणतन्त्र दिवसको सन्दर्भमा जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने, १५ गते विहान प्रभातफेरी र बेलुका दीप प्रज्वलन निर्णय प्रष्ठिानले गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३, २०७६ /Friday, May 17th, 2019, 9:58 pm