समाजवादी बजेट ल्याउने सुदुरपश्चिम सरकारको निर्णय

धनगढी, जेठ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु प्रस्तुत गरेको छ।

बिहीबारको प्रदेश सभा बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले आगामी आर्थिक बर्षको बजेटका प्राथमिकता सहितको दस्तावेज प्रस्तुत गरेका हुन्।
मन्त्री बोहराले खुला, स्वस्थ र प्रतिस्पर्धी बजार अर्थतन्त्रको सुदृढीकरणबाट उत्पादन, उत्पादकत्व, उद्यमशीलता र प्रविधिलाई प्रोत्साहन गर्दै स्वतन्त्र समृद्ध, र सरल अर्थतन्त्र निमार्ण गरिने बताए।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा समाजवाद उन्मुख अर्थतन्त्रको निमार्ण गर्ने, कृषिमा आत्मनिर्भरता हासिल गर्ने, उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने, दिगो आर्थिक वृद्धि गर्ने र पिछडिएको वर्गलाई सामाजिक न्याय सहितको सुरक्षा प्रदान गर्ने लक्ष्य निर्धारण गरेको छ। प्रदेशका नागरिकलाई स्वआर्जनतर्फ उन्मुख गराई बेरोजगारी अन्त्य गर्ने उद्देश्य समेत बजेटले लिएको आर्थिक मामिला तथा योजना मन्त्री बोहराले बताए।

गरिबीबाट आक्रान्त नागरिकलाई तत्काल राहत पुग्ने गरी गरिबी न्यूनिकरण लक्षित कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखिएको छ। स्थानीय स्रोत, सीप र साधनमा आधारित रोजगारी तथा स्वरोजगारी मार्फत आयआर्जन वृद्धि गर्ने, यातायात, सञ्चार, खानेपानी, विद्युतीकरण, लगायतका आधारभूत विकासको पहुँच प्रदेश भरी पुर्‍याउने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २, २०७६ /Thursday, May 16th, 2019, 10:51 pm