राष्ट्रिय प्रशारणमा जोडियो ३० मेगावाट बिजुली

काठमाडौ, जेठ २ । माथिल्लो त्रिशूली ‘थ्री ए’ आयोजनाले ३० मेगावाट विद्युत उत्पादन थालेको छ । रसुवा र नुवाकोटमा निर्माण भएको उक्त आयोजनाले जडित क्षमता ६० मेगावाट भएको आयोजनाले पहिलो यूनिटबाट विद्युत उत्पादन थालेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार स्वीच थिचेर आयोजनाको विद्युत उत्पादन सुरुवात गरेका हुन् । आयोजनाको दोस्रो यूनिटको काम असारभित्र सक्ने लक्ष्य छ ।
९ वर्षअघि निर्माण सुरु भएको आयोजना भूकम्प, क्षमता बढाउने विवाद लगायतका कारणले ढिला भएको थियो ।

आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् काठमाडौंको मातातीर्थ स्थित सबस्टेसनमा जोडिएको छ । शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ । त्यसपछि उपकरण तथा सुरुङ, बाँध लगायतका संरचनाहरुको पुनः परीक्षण गरिने छ । यो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन सुरु हुने छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली ३ ए संचालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेकेा विद्युत्को परिमाण घट्ने बताए ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २, २०७६ /Thursday, May 16th, 2019, 10:05 pm