नेपाल एग्रो लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत

काठमाडौं, जेठ २ । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ९७ हजार ७ सय ७८ कित्ता सूचिकृत भएको छ ।

अब यो शेयर स्टकमा सूचिकृतसँगै दोस्रो बजारमा लगानीकर्ताहरुले कारोबार गर्न सक्नेछन् ।

लघुवित्त कम्पनीले बैशाख ८ गतेदेखि वैशाख ११ गतेसम्म आईपीओ निष्काशन गरेको थियो ।

संस्थाको हालको चुक्ता पूँजी ३ करोड ३६ लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी ४ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

दुई वर्ष अगाडि स्थापना भएको संस्था चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकबाट नाफा देखिन थालेको छ । संस्थाले पुससम्ममा ७२ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ३७ करोड ७९ लाख रुपैयाँ बरोइङ र १४ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरि ४९ करोड १० लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

केन्द्रीय कार्यालय कास्की जिल्लाको पोखरामा रहेको छ । यसले पश्चिम नेपालको कास्की, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, सल्यान, प्युठान, रोल्पा, तनहुँ, लम्जुङ जिल्ला कार्यक्षेत्र रहेर सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २, २०७६ /Thursday, May 16th, 2019, 8:02 pm