अस्थायी शिक्षक १३ दिनदेखि आमरण अनशनमा

काठमाडौं, जेठ २ । अस्थायी शिक्षक विभिन्न माग राखी १३ दिनदेखि आमरण अनशनमा बसेका छन् । शिक्षक सेवा आयोगले स्थायीका लागि लिएको परीक्षामा अनुत्तीर्ण भएपछि विस्थापित नगर्नलगायतका माग राखी शान्तिवाटिकामा अनशन बसेका हुन् । अस्थायी शिक्षकलाई कुनै पनि बहानामा विस्थापित नगर्न र पुनः आन्तरिक परीक्षाको व्यवस्था गरी स्थायीको प्रक्रियामा लैजानुपर्ने उनीहरूको माग छ । पर्साकी नितु सिन्हा र जुम्लाकी राधा रावत २० वैशाखदेखि आमरण अनशनमा बसेका छन् । अनशनका कारण उनीहरूको स्वास्थ्यमा समस्या आएको छ । उपचारका लागि उनीहरूलाई वीर अस्पताल लानेरल्याउने गरिएको छ ।

शिक्षा ऐनको नवौँ संशोधनअनुसार आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकले स्वतः अवकाश पाउने व्यवस्था छ । अनुत्तीर्ण भएका शिक्षकले अहिले रोजगारीको निरन्तरता हुनुपर्ने माग गरेका छन् ।अस्थायीरकरार शिक्षक केन्द्रीय संघर्ष समितिका वरिष्ठ उपाध्यक्ष गोपाल बस्नेतका अनुसार परीक्षाका लागि फारम भरेका करिब २६ हजारमध्ये १२ हजारभन्दा बढी अनुत्तीर्ण भएका छन् । उनले सरकारले संविधानले व्यवस्था गरेको रोजगारीको हकको समेत उल्लंघन गरी शिक्षकलाई अवकाश दिएको आरोप लगाए ।

ऐनअनुसार परीक्षामा अनुत्तीर्ण शिक्षकले समेत ‘गोल्डेन हेन्डसेक’ दिने व्यवस्था गरेको छ । बस्नेतले आफ्ना अनुभवलाई पैसामा किनबेच हुन नदिने बताए । संघर्ष समितिका सदस्य बिगु साहले नतिजामा समेत अनियमितता भएको आरोप लगाए । उनले वर्षौँसम्म पढाएका शिक्षकलाई अवकाशपत्र दिँदा तीनजनाको हर्ट अट्याकबाट मृत्यु भएको दाबीसमेत गरे । अस्थायी शिक्षकको आन्दोलनमा ऐक्यबद्धता जनाउन पर्साबाट काठमाडौं आएका नेपाल शिक्षक महासंघ बहुदरमाई नगरपालिकाका अध्यक्ष रामजी चौहानले सरकारले माग पूरा गर्नुपर्ने बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २, २०७६ /Thursday, May 16th, 2019, 7:20 am