अख्तियारका पूर्वआयुक्त पाठक ७८ लाख धरौटी बुझाएर छुटे

काठमाडौँ, जेठ १ । विशेष अदालतको आदेशअनुसार ७८ लाख रुपैयाँ धरौटी बुझाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकले तारेखमा छुटेका छन् । ७८ लाख रुपैयाँ घूस बुझेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी बुधबार विशेष अदालतमा उपस्थित भएका थिए ।

अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकलाई ७८ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो । पाठकले धरौटी बुझाएपछि अदालतबाट छुटेका हुन् । अब उनले थुनामा नबसी आफूमाथिको आरोपको प्रतिवाद गर्न पाउने भएका छन् ।

भक्तपुरको नेपाल इन्जिनियरीङ कलेजमा सञ्चालकबीचको विवादमा लम्बोदर न्यौपाने पक्षमा निर्णय गरिदिने भन्दै पाठकले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा परेको हो । घुस लिएको पुष्टि हुने भिडियो सार्वजनिक भएपछि उनीमाथि महाअभियोग लगाउने तयारी भएको थियो । महाअभियोगको तयारीपछि उनले राजिनामा दिएका थिए । आयोगले गत १२ चैतमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १, २०७६ /Wednesday, May 15th, 2019, 7:35 pm